काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले मुलुकको समस्या बुझेर अर्थ मन्त्रालयसँग समन्वय गरी काम गर्ने गभर्नर नियुक्ति गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस पटक गभर्नर नियुक्तिमा राजनीति देखिएको बताए । राष्ट्र बैंकको गभर्नरमा आउने व्यक्तिले दलको झण्डा नबोकेको भए पनि नेताहरुले हाम्रो मान्छे भनेर बदनाम गराइदिएको बताए ।
गभर्नर नियुक्तिका लागि सरकारले समुद्रमै डुबुल्की मारेर खोजिरहेको हो कि भन्न भान भइरहेको बताए । ‘सरकार प्रफेक्ट गभर्नरको खोजीमा दत्तचित्त भएर लागेको बुझिइराखिएको छ । अनुहारले राम्रो होइन, मुलुकको समस्या बुझेर अर्थ मन्त्रालयसँग समन्वय गरेर काम गर्ने राम्रो मान्छे अझै पाइएन भनेर खोजिराखेको छ । त्यो सिलसिलामा समुद्रमै डुबुल्की मारेर खोजिएको हो कि भन्ने भान परिराखेको छ,’– उनले भने ।
नेपाल राष्ट्र बैंक एक महिनादेखि गभर्नरविहीन छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएको भए पनि सरकारले अहिलेसम्म गभर्नर नियुक्ति गर्न सकेको छैन । कानुनतः गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने हुन्छ । File Photo/RN




प्रतिक्रिया