काठमाडौं, २६ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बैंकरहरुको मनोमानी लुटले गर्दा नेपालका बैंकहरु नै अस्तव्यस्त बनेको गम्भीर आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै पूर्वमन्त्री साहले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘बैंकरहरुको मनोमानी लुटले गर्दा आज नेपालका बैंकहरु अस्तव्यस्त बनेका छन् । एकातिर आम जनताले कर्जा पाईरहेका छैनन्, अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिति छ । जनताले ब्याजमा पैसा नपाउने अनि जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने, यो भन्दा ठूलो विडम्बना अरु के हुन्छ ? म अहिलेको सरकारलाई सोध्न चाहन्छु–यही हो तपाईंहरुको दुई तिहाईको सुशासन ?’
दुई महिनाअघि नै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती हुनुपर्नेमा आजसम्म नियुक्ती नगरिएकोमा पनि प्रश्न उठाए । कांग्रेस र एमालेबीचको द्वन्द्व र दुई दलका नेताहरुको आन्तरिक कलहको कारण गभर्नर नियुक्ती नभएको कुरा आज देशमा छ्यापछ्याप्ती भैरहेको पनि साहले स्मरण गराए । उनले अहिलेको सरकारको मनपरीतन्त्रले देशको अर्थतन्त्रलाई ठूलो असर पारिरहेको पनि टिप्पणी गरे । उनले नेपालका बैकरहरुको भूमिकामाथि पनि प्रश्न उठाए ।
उनले भने,‘नेपालका बैंकरहरु छन्, नेपाली गरिब जनताको पैसा लुटेर मनोमानी गर्ने र विदेश लैजाने यो परिपाटी छ, यसलाई रोक्न जरुरी छ । दुनियाँमा कहीँपनि जो धनी, उनी ऋणी छैन् । आँफै बोक्सी र आँफै धामी भयो भने देशमा विनाश हुन्छ । आज नेपालमा जो बैंकर छन्, उनी आज आँफै ऋणी छ । सिपाही र चोर एउटै हुँदैन, तर नेपालमा उही बैंकर अनि उही ऋणी छ । यही कारणले देशको अर्थतन्त्रमा ठूलो असर परिरहेको छ । बैंकिङ पुँजी झण्डै ८० खर्बभन्दा माथि छ, जसको प्रमोटर शेयर, जो बैंकर हो त्यसको ४ खर्ब वरिपरी लगाी छ, तर होल कर्जाको झण्डै ७० प्रतिशत पुँजी ती प्रमोटरहरुले चलाईरहेको स्थिति छ । जम्मा ४ खर्ब लगानी गर्ने अनि ४० खर्बभन्दा बढि पैसा जनताको पैसा दोहन गर्ने, यो भन्दा ठूलो अत्याचार के हुन्छ ?’
साहले देशमा अहिलेसम्म जनताले ५ करोड ८२ लाखले बैकिङ खाता खोलेको तथ्यांक पनि पेश गरे । तीमध्ये साढे तीन करोड सक्रिय खाता रहेको पनि उनले बताए । त्यसमा झण्डै ७० खर्ब निक्षेप पुँजी जम्मा रहेको पनि साहले बताए । जनताले जम्मा गर्ने तर त्यसबाट केहीपनि लाभ नपाउने भएको भन्दै आक्रोश पोखे । आफूले उठाएको विषयलाई गम्भीर रुपमा लिनपनि उनको आग्रह छ ।
उनले बैकिङ ऋणमा विभिन्न कारणले अल्झिएका र फसेका ऋणीहरुलाई उद्धार गर्नेगरि ध्यान दिन सरकारको ध्यानाकार्षण गराए । उनले ब्याजको नाममा अतिरिक्त ब्याज असुल्ने काम गरिएकोमा विरोध जनाउँदै त्यो पनि फिर्ता गर्न लगाउनुपर्ने सुझाव दिए । उनले नेपालको समग्र बैकिङ क्षेत्रलाई कडाईका साथ नियमन गरिनुपर्नेमा जोड दिए ।
सर्वसाधारण जनता आज बैकिङ कारोबारमा अतिरिक्त शुल्क (११ रुपैयाँ) तिर्न बाध्य भएको भन्दै त्यसबारेपनि विचार गर्न उनले सुझाव दिए । बैंकमा बचत गर्दा व्याजदार नपाउने तर एउटा खाताबाट अर्को खातामा कारोबार गर्दा पैसा तिर्नुपर्ने प्रावधानको पनि उनले विरोध जनाए ।




प्रतिक्रिया