वाईसीएल नेपाल मन्थलीको अध्यक्षमा पाख्रिन, सर्वसम्मत १८ सदस्यीय समिति चयन


रामेछाप, २६ वैशाख । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल मन्थली नगर कमिटीको दोस्रो सम्मेलनबाट केशव पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । आज (शुक्रबार) मन्थलीमा भएको सम्मेलनले पाख्रिनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

माओवादी केन्द्र मन्थली नगर कमिटीका सचिव राम तामाङका अनुसार वाईसीएल नेपालको नगर सम्मेलनबाट उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य, सचिवमा मनोज माझी, सहसचिवमा पुजन श्रेष्ठ र भवन कार्कीलाई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र वर्मासाख, रामकृष्ण गिरी, विशाल बोहोरा, गणेश मिजार, सरोज चौहान, महेश खत्री, दिनेश वर्मासाख र सुजन भुजेल चयन भएका छन् ।

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ । राष्ट्रिय सम्मेलनको पूर्व तयारीमा रहेको वाईसीएलले यसअघि नगर सम्मेलन, जिल्ला सम्मेलन र प्रदेश सम्मेलनको कार्यक्रमहरु गरिरहेको छ । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ ।