काठमाडौं, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले गणतन्त्र र संविधानमा भएका कतिपय व्यवस्थाको विरुद्धमा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी फरक विचारलाई प्रतिबन्ध लगाउनेगरी कानुन बनाउन संविधानले नै निषेध गरेको बताए ।
अध्यक्ष लिङ्देनले राप्रपाले राजसंस्था र हिन्दु राज्य स्थापनाको कुरा गर्नु संविधानविरोधी हो र यिनीहरुलाई दण्डित गरिनुपर्छ भनेर संसद्मा बारम्बार कुरा उठिरहेको र सरकारको नीति तथा कार्यक्रममा पनि उक्त कुरा समावेश गरिएको भन्दै उनले आपत्ति जनाए । तर, वर्तमान संविधानको धारा २७० ले आफूहरुलाई फरक मत राखेर राजनीति गर्ने अधिकार दिएको उनको दाबी छ ।
लिङ्देनले आफूहरुको विरोध र प्रतिबन्ध लगाउने भन्दा पनि गणतन्त्रप्रति जनतामा आशा जगाउने काम गर्न सुझाव दिए । (प्रचण्ड नेतृत्वको) अघिल्लो सरकारले भनेजस्तै जनतामा आशा जगाउने गरी काम गर्न उनले आग्रह गरे । ‘सरकारले यस प्रकारको निधेषका कुराहरु आफ्नो कार्यक्रममा लेख्नुभन्दा, राज्य आतङ्क सिर्जना गर्ने खालको, विपक्षी विचारलाई आतङ्कित गर्ने आफ्ना दृष्टिकोणहरु प्रस्तुत गर्नुको बदलामा गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न, अघिल्लो सरकारले भनेजस्तो । अघिल्लो सरकारले आशा जगाउने काम गर्यो कि गरेन । तर, प्रयत्न गर्छु भनेको थियो । आशा जगाउने काम गर्नुस्,’– उनले भने । File Photo/RN




प्रतिक्रिया