पूर्वमन्त्री विष्टको दाबीः अहिलेको संविधान नेपालीले नेपालको लागि बनाएको होइन


काठमाडौं, २७ वैशाख । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादु विष्टले वर्तमान संविधान नेपालको लागि नेपालीले नबनाएको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संयुक्त राष्ट्र संघका प्रतिनिधि एस घाईले नेपालको संविधान आफूले बनाएको दाबी गरिरहेको बताएका हुन् । उनले नेपालमा ६०१ जनाको भेडाहरुलाई लाइनमात्रै लगाइएको बताए । संविधान निर्माणका क्रममा कुनै दलका सांसदहरुले विवेकले यो कुरा म मान्दिनँ भन्ने तागत नै नराखेको उनले बताए ।

‘यो नेपालीले नेपालको लागि बनाएको संविधान नै होईन । गुगलमा एस घाई भन्ने मान्छे सर्च गर्नुस् । उनको परिचयमा के लेखिएको छ भने नेपालमा सदियौंदेखि जातजातिको समस्या र धार्मिक द्वन्द्व भइराखेको परिस्थितिमा मैले संयुक्त राष्ट्र संघको प्रतिनिधि भएर नेपाल गएर त्यो देशको संविधान बनाईँ भनेको छ । यहाँ ६०१ जना मान्छेको लाइन लगाइदियो, लाखौं जनताले बाटोभरी कराए,’– उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका विष्टले राजसंस्था पुनर्स्थापनाको लागि आफूहरुले निरन्तर शान्तिपूर्ण आन्दोलन जारी राख्ने उनले बताए । यही आन्दोलमार्फत सहमती भएर राजसंस्था पुनर्स्थापना हुने उनले बताए । नेता विष्टले पार्टीको एउटा लफङ्गालाई राष्ट्रपति बनाउनु भन्दा राजसंस्था र राजा नै उपयुक्त हुने उनको तर्क छ । उनले गणतन्त्रलाई कालो दिनको संज्ञा दिए । त्यही कालो दिन सुरुभएको दिनबाटै आफूहरुले देश उज्यालो बनाउने परिवर्तनको सुरुवात गर्न लागेको बताए ।

‘पार्टीको एउटा मान्छेलाई बकस दिइएको राष्ट्रपतीय प्रणाली भन्दा देश निर्माण गर्ने संस्थाको राजा बेस भनेको मात्र हो हामीले । जेठ १५ गते भन्नुको पृष्ठभूमि बुझ्न जरुरी पनि छ । देश बिगार्ने तन्त्र सुरु भएको दिनमै देश सपार्ने परिवर्तनको काम गर्दैछौं हामी,’– उनले भने ।