कांग्रेस–एमालेको प्रेम युगयुगसम्म रहोस् भन्ने माओवादीको चाहना भएपनि छिट्टै डिभोर्स होलाजस्तो छः अमनलाल मोदी


काठमाडौं, २७ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले आफ्नो पार्टी आतङ्कवादको विरुद्धमा रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘भारत पाकिस्तान युद्धले नेपालमा पर्नसक्ने असर’ बारे साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले आतङ्कवादको विरुद्धमा गर्ने सबै प्रकारका आक्रमणमा माओवादीको समर्थन रहेको बताए । उनले आतङ्कवादीविरुद्धको आक्रमणको नाममा देशलाई नै नियन्त्रणमा लिने, कब्जा गर्ने र देशमाथि नै आक्रमण गर्ने कार्यको चाहीँ विपक्षमा रहेको उनले बताए । माओवादी अहिले प्रतिपक्षमा रहेको बताउँदै उनले सरकारलाई घच्घच्याएर भारतले आतङ्कवादको विरुद्धमा चालेको कदमलाई साथ दिने उनले बताए ।

‘माओवादी जहिले पनि आतङ्कवादको विरुद्धमा छ । भारतले जो आक्रमण गरिराखेको छ, पूरै देशलाई आक्रमण गर्न हुँदैन । तर, आतङ्कवादको विरुद्धमा आक्रमण गर्दा हाम्रो जहिले पनि समर्थन हुन्छ । तर, देशलाई नै आतङ्कवादको नाममा नियन्त्रण र कब्जा गर्ने कामको चाहीँ हामी विपक्षमा छौं । कूटनीतिमार्फत समस्याको समाधान गर्नुपर्छ,’– उनले भने ।

साथै, नेता मोदीले वर्तमान दुई तिहाइको सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आक्रोशलाई सम्बोधन गर्न नसकेको, आम नागरिक र राष्ट्रको हितमा नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सरकार आफैं उदासिन रहेको उनको भनाइ छ । नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तारुढ दलका सांसदहरु नै निष्कृय र उदासिन रहेको उनले बताए । नीति तथा कार्यक्रम स्पष्ट नरहेको, बजेट विनियोजन गर्ने सवालमा आफूखुसी हुने प्रकारको रहेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दवाबमा केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिबाट राजीनामा दिनुपरेको र कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर सकारले राम्रो मान्छेलाई काम गर्न नदिएको उनले बताए । प्रधानमन्त्री ओलीले मेरिटोक्रेशी, क्षमता र दक्षताका भएका मान्छेहरुलाई हटाएर धज्जी उडाइरहेको उनले बताए । नेता मोदीले अहिले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सन्दर्भमा विचौलियाहरुको प्रभाव देखिएको बताए । विचौलियाको सेटिङ नमिलेसम्म गभर्नर नियुक्ति नहुने उनले बताए ।

‘नेपाली कांग्रेसका महामन्त्रीले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभएको छ । उहाँहरुले आफैं व्यक्त गरेको कुरा । त्यो बेडरुमसम्म पुग्ने विचौलियाहरुको प्रभाव अहिलेको गभर्नर नियुक्तिसँग जोडिएको छ । हामी सुन्दैछौं– मोटो रकममा विचौलियाहरु, दलालहरुलाई केन्द्रमा राखेर कसरी नियुक्ति गर्नुपर्ने, त्यसो भएकाके कारण आजसम्म नियुक्ति हुन सकेको छैन,’– उनले भने ।

उनले आफूहरु सरकार ढाल्ने कुनै चलखेलमा नरहेको बताए । नेपाली कांग्रेस र एमालेको प्रेम युग–युगसम्म रहिरहोस् भन्ने माओावदीले चाहे पनि वर्तमान सरकारविरुद्ध जनता निराश र आक्रोशित भएको उनले बताए । कांग्रेस–एमालेको छिट्टै डिभोर्स हुने पनि उनले बताए ।

कांग्रेस–एमाले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकै कारण राजावादीहरुले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर दुष्प्रयास गरेको उनले बताए । उनले पानी धमिलो छ भन्दैमा माछा मार्ने प्रयास सफल नहुने राजावादीहरुलाई चेतावनी दिए । गणतन्त्रको पक्षमा हजारौंको बलिदानी र त्याग गरेको माओवादीले राजावादीहरुको सपना पूरा हुन नदिने नेता मोदीले बताए ।

‘सरकारको कारणले राजावादीहरु धमिलो पानीमा माछा मार्न पाइन्छ कि भनेर सरकारको गतिविधिका कारणले राजावादीहरु सक्रिय भए । माछा मार्नको लागि पानी धमिलो छ भन्दैमा राजावादीहरुको सपना पूरा हुँदैन । हामी छौं,’– उनले भने ।