ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन : उपेन्द्र यादव


जनकपुरधाम, २८ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र विचौलियाहरुले चलाएको आरोप लगाएका छन । जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको हिजो (शनिबार) आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार जनताको नभई तस्कर र विचौलियाहरुको रहेको आफैले पुष्टि गरिसकेको दाबी गरे ।

बजेट निर्माणको क्रममा मुख्यकक्षसम्मै विचौलियाहरु पुगेको घटना प्रमाणित भईसकेको उल्लेख गर्दै अध्यक्ष यादवले यस्तो सरकारसंग जनताले विकास र सुशासनको अपेक्षा राख्नु नै गलत हुने बताए ।

अमेरिकी राष्ट्रपतिले आफनो संसदमै नेपाली नेताहरुलाई ’फ्रड लिडर’ भनेर सम्बोधन नै गरिसकेको स्मरण गराउदै अध्यक्ष यादवले अहिलेको सरकार मुलुकमा मात्र नभई वैश्विक स्तरमै आफनो विश्वास गुमाई सकेको टिप्पणी गरे । मुलुक अहिले वैदेशिक रेमिट्यान्सले संचालन भई रहदा समेत सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुका लागि ठोस नीति ल्याउन नसक्नु राज्यकै लागि लज्जास्पद रहेको बताए ।
संविधान संशोधनको नाउमा काँग्रेस कम्युनिष्टले संघीय लोकतान्त्रिक गणतन्त्र संगै खेलाँची गर्ने षडयन्त्र गरि रहेको बताउदै अध्यक्ष यादवले भने ,‘उनिहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नभई यसलाई समाप्त पर्ने बाटो कुरी रहेका छन । जुन दिन संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने क्लु उनिहरुले पाँउछन त्यहि दिन संशोधनको बाटोमा जान्छ ।’

परिवर्तन विरोधी शक्तिहरु मुलुकलाई प्रतिगमनतिर लैजाने षडयन्त्र गरिरहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरु सडक , सदन र षडयन्त्र तीनवटै मोर्चामा भिडेको बताए । ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश विद्रोहको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरु सचेत हुनुपर्ने बेला आएको बताए ।

महिलाहरुलाई समानताको अधिकार नदिएसम्म मुलुकले विकास र समृद्धि प्राप्त गर्न नसक्ने बताउदै उनले अवसर, सम्पति, शिक्षा र न्यायालयमा समान पहुँचको आधार तय गर्नुपर्ने बताए । महिला संघका अध्यक्ष निर्मला यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष विद्युत ब्रजाचार्य, महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, रेखा यादव, प्रमिला यादव, हरिनारायण यादव, डा. सुरेन्द्र यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आज सम्पन्न हुने आयोजकले जनाएको छ ।