स्व नेपालको बहुआयामिक व्यक्तित्वको परिचर्चा


काठमाडौँ, २८ वैशाख । पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको प्रगतिशील विचार, साहित्यिक सृजनशीलता र समाज परिवर्तनप्रति अटल समर्पण रहेको भन्दै प्रशंसा गरिएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा नेपालको निधनको छैटौँ दिन आज यहाँ आयोजित कार्यक्रममा उनको जीवनीसम्बन्धी परिचर्चाका सहभागी वक्ताले नेपाली समाज र कम्युनिष्ट आन्दोलनमा नेता नेपालको निधनले अपूरणीय क्षति पुगेको भनी दुःख व्यक्त गरे । कार्यक्रमका वक्ताहरूले नेपालको राजनीति, कम्युनिष्ट आन्दोलन, साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेता नेपाल नेपालका वामपन्थी राजनीतिमा इमान्दार, अग्लो कद, स्पष्टवक्ता र दिइएको जुनसुकै जिम्मेवारीलाई पनि सहज तरिकाले पूरा गर्ने व्यक्तिका रूपमा रहेको स्मरण गराए ।

एमाले नेतृ विन्दा पाण्डेले स्व नेपालको जीवनी र कृतिहरूलाई डिजिटल माध्यम (ई–बुक र अडियो) मार्फत संरक्षण गरी युवा पुस्तासम्म पुर्‍याउन सुझाव दिइन् । पार्टीका नेता सूर्य थापाले स्व नेपालको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारिन् ।

प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर फुयाँलको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रमा मुकुन्द न्यौपाने, राजेन्द्र गौतम, देवी ओझा, दीपक निरौलालगायत वक्ताले स्व नेपालको बहुआयामिक व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्षहरूका बारेमा चर्चा गरे ।

प्रतिष्ठानले उनको समर्पण, दूरदर्शी नेतृत्व र अटल निष्ठाले संस्थाहरूलाई नयाँ उचाइमा पु¥याएको जनाउँदै स्व नेपालको स्मृति र विचारलाई जीवन्त राख्न थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । स्व नेपाल पछिल्लो एक दशकदेखि प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा थिए । रासस