काठमाडौं, २९ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले राजावादीहरको बेलुन फुटाइदिएको बताएका छन् । आज (सोमबार) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको पार्टीको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले गत चैत १५ गते समाजवादी मोर्चाको आह्वानमा विशाल कार्यक्रम गरेर आफूहरुले राजवादीहरुको बेलुन फुटाइदिएको बताएका हुन् । उनले माओवादीसहितको समाजवादी मोर्चाले एकै चोटमा राजावादीहरुको बेलुन फुटाइदिएको टिप्पणी गरे ।
‘सुनारको सय चोट, लोहारको एकैचोट भनेझैं एकचोटी माओवादीको नेतृत्वमा समाजवादी मोर्चासमेत भएर प्रहार गर्दा राजावादीहरुको बेलुन फुट्यो । अझैं पनि उनीहरु दुष्साहस गर्ने कुचेष्टा गर्दैछन् । सबै पूर्व पञ्चहरु मिलेर जेठ १५ देखि आन्दोलन घोषणा गरेका छन् । म कर्णालीवासी जनसमुदाय र विशेषगरी वाईसीयललाई अपिल गर्न चाहन्छु– उनीहरको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि तपाईँहरुले गाउँघर, टोलटोलमा जानुपर्ने छ । उनीहरुको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने छ,’– उनले भने ।
अध्यक्ष प्रचण्डले राजा महाराजाहरुले अढाइ सय वर्षसम्म शासन गरेर देशलाई कंगाल बनाएको बताए । तत्कालीन राजा विरेन्द्र शाहको वंशनाश हुनेगरी भएको हत्याकाण्ड छानविनबारे उनीहरुले केही कुरा नै नगरेको भन्दै प्रचण्डले तत्कालीन राजाहरुलाई कायरको संज्ञा दिए ।
‘यिनीहरु तिनै राजा महाराजा होइनन् ? जसले अढाइ सय वर्ष शाषण गरेर संसारको सबैभन्दा गरिब देशको दर्जामा ल्याउने यिनै होइनन् ? ठूल्ठूला बलात्कार र चर्चित हत्याकाण्ड गराउने यिनीहरु नै होइनन् ? राज परिवारको हत्यारा हुँदा हत्यारा पत्ता लगाउने कुरा आँ पनि गर्न नसक्ने कायरहरु यिनै होईनन् ? त्यसकारण यिनीहरुको घुर्की र धम्कीको प्रतिकार देशभरीका जनताले गर्नुपर्छ,’– उनले भने ।
साथै, प्रचण्डले आफूहरु संविधान संशोधनको पक्षमा रहेको बताए । उनले देशमा राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति दिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो शासकीय स्वरुप चाहिएको बताए । आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको पनि प्रचण्डले दोहोर्याए ।




प्रतिक्रिया