प्रधानमन्त्री ओलीले सुशासनको प्रत्याभूति दिनुभएको छ, उहाँ भ्रष्टाचारीको पछाडि लाग्नुहुन्नः प्रेम आले (भिडिओसहित)


काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेम आलेले भैरहवा विमानस्थलमा व्यापक भ्रष्टाचार भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले भैरहवा विमानस्थलमा अहिले बाख्रा, भैंसी चरिरहेको र अनावश्यक रुपमा उक्त जग्गा किनेर भ्रष्टाचार गरेको बताएका हुन् । खोलानाला डुवान क्षेत्रको जग्गा खरिद गरेर राज्यलाई आर्थिक भारमा पारिएको उनले बताए । नेपाल सरकारको ५० अर्ब पैसा भैरहवाको एयरपोर्टमा खरिद गरेर बालुवामा पानी हालेजस्तै लगानी गरिएको उनले बताए ।

‘मैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्रेलर भनेको थिए, फिल्म चाहीँ भैरहवा भनेको थिएँ । लु हेर्नुस् यो फिल्म होइन ? जहाँसम्म तार लगाएको छ, त्यो एयरपोर्ट भइहाल्यो । यहाँ दुई जना मान्छे बराबर डुवान हुन्छ । यो अनावश्यक हो । यहाँ बाख्रा, भैसी चरिरहेको छ, माछा मारिरहेका छन् । यो जग्गाको काम नै छैन । अनावश्यक रुपमा जग्गा किनेर भ्रष्टाचार भएको छ । अब छिट्टै यसको तथ्यसत्य बाहिर आउँछ,’– उनले भने ।

बजेट निकासा दिने पक्षको कुनै गल्ती नरहेको बताउँदै उनले नेपाल नागरिक उड्यायन प्राधिकरणले यसो जिम्मा लिनुपर्ने उनले बताए । उनले पोखरा विमानस्थलमा पनि व्यापक भ्रष्टाचार भएको उनले बताए । पोखराको प्रतिवेदन तयार भइसकेको र त्यस कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिनुपर्ने बताए ।

उनले नागरिक उड्यायन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टको संज्ञा दिए । तत्कालीन समयमा आफू नागरिक उड्यायनमन्त्री भएको बेलामा पार्टीको दवाब थेग्न नसकेर अधिकारीलाई महानिर्देशक नियुक्त गर्नुपरेको उनले बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता भ्रष्टहरुको पछाडि नलाग्ने पनि उनले विश्वास व्यक्त गरे । उनले भने, ‘आजको प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता भ्रष्टहरुको पछाडि लाग्नुहुन्न । सुशासनको प्रत्याभूति उहाँले दिनुभएको छ । म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ उहाँले भन्नुभएको छ । मलाई विश्वास छ कि यस्ता भ्रष्टाचारीलाई अवश्यक कारबाही गर्नुहुन्छ । File Photo/RN