‘प्रक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग कुम जोडेर बस्नु सुशासनको कुन चाहीँ नमूना हो ?’


काठमाडौं, ३० वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य रणेन्द्र बराइलीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णुप्रसाद पन्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै कुम जोडेर राखेको भन्दै आपत्ति जनाएका छन् । हिजो (सोमबार) बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहमा प्रदेश सांसद पन्थी प्रधानमन्त्री ओलीसँगै बसेका थिए ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बराइलीले पक्राउ पुर्जी जारी भएका सांसद सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि पक्राउ नगरीको र उल्टै प्रधानमन्त्री ओलीसँग कुम जोडेर बसेको भन्दै आपत्ति जनाएका हुन् ।

‘सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पुर्जी जारी भएको आफ्नो पार्टीको सांसद छन् । प्रहरी प्रशासन जाँदा खेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ, प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन् । यो सुशासनको कुन चाहिँ नमुना हो ? प्रश्न गर्दै उनले भने ।