गभर्नरको रेसमा रहेका विश्व पौडेलविरुद्ध पनि सर्वोच्चमा रिट


काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर बन्ने चर्चामा रहेका डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले आज (मंगलबार) रिट निवेदन दर्ता गराएका हुन् ।

पौडेललाई राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने रिट निवेदकको जिकिर रहेको छ । डा.पौडेल नेपाली कांग्रेसका नेता हुन् । कांग्रेसले उनलाई २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन १ बाट उम्मेदवार बनाएको थियो । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालसँग पराजीत भएका थिए ।

नेपाल राष्ट्र बैंक ऐनको दफा १४ (क) ले राजनीतिक दलको सदस्य वा पदाधिकारीलाई गभर्नर, डेपुटी गभर्नर र सञ्चालक नियुक्त गर्न नसकिने प्रष्ट व्यवस्था गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गभर्नर नियुक्तिका लागि गठित समितिले उनलाई गभर्नरमा सिफारिस गर्ने तयारी गरेको थियो । डा.पौडेललाई गभर्नर बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच सहमति जुटिसकेको छ ।

यसअघि देउवाले नेपाल राष्ट्र बैंकका निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बनाउन खोजेका थिए । डा.भट्टले नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामासमेत दिएका थिए । तर, कायममुकायम गभर्नर डा.निलम ढुङ्गानाले डा.भट्टको राजीनामा स्वीकृत नगरिदिँदा देउवाले नयाँ विकल्पस्वरुप पौडेललाई अघि सारेका थिए । यद्यपि डा.भट्टको योग्यतामाथि पनि प्रश्न उठाउँदै सर्वोच्चमा रिट परिसकेको छ ।