नीतिमा नवीनतासँगै कामयाबी कार्यक्रम हुँदामात्रै देश समृद्ध हुन्छ : डा. महतो


‘समावेशी विकास नगरेसम्म लोककल्याणकारी राज्य निर्माण हुन सक्दैन्’
काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले समावेशी विकास र सामाजिक न्याय कायम नगरेसम्म लोककल्याणकारी राज्य निर्माण हुन नसक्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘लोककल्याणकारी राज्य निर्माणको रटान धेरै वर्षदेखि लगाउँदै आईएको छ, तर समावेशी विकास र सामाजिक न्याय कायम गर्ने कुरामा अहिलेसम्म ध्यान दिईएको थिएन । यसपटक सरकारले त्यसतर्फ ध्यान दियोस।’–उनले भने । आम नागरिकलाई विकासको लाभमा पहुँच सुनिश्चित् गरिनुपर्ने उनको जोड छ । उनले सन्तुलित विकासको लागि तीन तहका सरकारबीच उचित समन्वयको अभाव रहेको पनि औंल्याए । सरकारी, सार्वजनिक र निजी क्षेत्रबीच उचित समन्वय र सहकार्य हुँदामात्रै देशमा सन्तुलित विकास हुने उनको धारणा छ ।

उनले डिजिल नेपाल निर्माणको लागि केही कानूनी झन्झट रहेको भन्दै त्यो हटाउनको लागि पनि सरकारलाई सुझाव दिएका छन् । उनले भने,‘यसपटक सन्तुलित र उन्नत सोच राखेर ल्याईएको छ, त्यसैले म यसको समर्थन र स्वागत गर्न चाहन्छु । माननीय अर्थमन्त्रीज्यूले यसपटक सरकारको बजेट बनाउँदा भौतिक पूर्वाधार र डिजिटल इकोनोमी निर्माणमा विशेष ध्यान दिनुभएको छ, म यसको सराहना गर्दछु । तर, डिजिटल नेपाल निर्माणको लागि केही कानूनी झन्झट हटाउनको लागिपनि म सुझाव दिन चाहन्छु ।’

महतोले सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासनमा पनि विशेष ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । उनले भने,‘जहाँ सार्वजनिक वित्तका क्षेत्रमा विगतदेखि झाँगिदै आएका विकृति र विसंगतिको अन्त्य गर्दै पूर्वतयारी र लगानी ढाँचा तय भएका आयोजनामा पुँजीगत विनियोजन केन्द्रित गरिने कुरा आएको छ । यो स्वागतयोग्य छ । उच्च प्रतिफल हाँसिल हुने आयोजनामा मात्रै सार्वजनिक ऋणको उपयोग गर्दा राम्रो हुन्छ । नेपालको विकासमा बाधा आउनुमा राजस्व परिचालनमा प्रभावकारिता नदेखिनुपनि हो । यसलाई प्रभावकारी बनाउने कुरा व्यवहारमा देखिनुपर्छ ।’

निजी क्षेत्रको प्रत्यक्ष सहभागितामा मात्रै देशको विकासमा टेवा पुग्ने उनको भनाई छ । त्यसको लागि व्यवसायीमैत्री वातावरण सिर्जना गरिनुपर्ने पनि महतोको सुझाव छ । उनले भने,‘देश विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको निजी क्षेत्रलाई साथमै लिएर जानको लागि व्यवसायीमैत्री वातावरण सिर्जना गरिनुपर्छ । निजी क्षेत्रले राखेका मागलाई सरकारले यथाशक्य चाँडो सम्बोधन गर्नुपर्छ । कानूनी, संस्थागत र प्रक्रियागत सुधारको खाँचो छ । यसमा सरकारले उचित कदम चालोस ।’

उनले वर्षौदेखि देशमै रोजगारीको वातावरण बनाउने कुरा विगतदेखिका सरकारले गर्दै आएकोमा यसपटकको बजेटले त्यसको सुनिश्चित्ता गर्नुपर्ने धारणा राखे । रोजगारी सिर्जना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले युवाहरु लाखौंको संख्यामा विदेशी भूमिमा सस्तो श्रममा आफ्नो खुन–पसिना बगाईरहनु देशकै लागि विडम्बना भएको टिप्पणी गरे । उनले भने,‘स्वदेशमै रोजगारी सिर्जना गर्न सकियो भने युवा पलायन रोकिनेथियो । विदेशमा काम गरेर फर्किएका युवाहरुको सीप, पुँजी र प्रविधिलाई देश विकासमा लगाउने वातावरण बनाउनुपर्छ । यसतर्फ सरकारले सोच्नुपर्छ ।’

नेपाललाई सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नती र सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) हाँसिल गर्न आवश्यक तयारी गरिने भनेर सरकारले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै महतोले अहिले अर्थतन्त्रमा देखिएको समस्याको चूरो पत्ता लगाई आर्थिक अनुशासन कायम गरिनुपर्ने पनि सुझाव दिए । उनले भने,‘अर्थतन्त्रमा गति नभरिकन हामीले लिएका यस्ता दीर्घकालिन लक्ष्य हाँसिल गर्न कठिनाई हुनेछ । त्यसतर्फ सरकारले पर्याप्त ध्यान दिईयोस ।’

कृषि क्षेत्रलाई यान्तीकरण र व्यवसायीकरण बनाउनेतर्फ अहिलेसम्म राज्यको ध्यान नपुगेको महतोको गुनासो छ । महतोले भने,‘व्यवसायिक खेतीको लागि सरकारले केही थप सुविधा प्रदान गर्नसके यो क्षेत्रको विकासमा टेवा पुग्नेथियो । बाँझो जमिनको चाँडोभन्दा चाँडो उपयोगको नीति अख्तियार गरियोस ।’

नेपालको विकासको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको समग्र विकासको लागि राज्यले ध्यान नदिएकोमा पनि महतोले गुनासो पोखे । उनले भने,‘छिमेकी देश भारत र चीनबाटमात्रै पर्यटकलाई नेपाल भ्रमण गराउने वातावरण बनाउन सकियो भने धेरै ठूलो विकास हुनेथियो । गुणस्तरीय पर्यटकको संख्या बढाउनेतर्फ सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ । त्यसको लागि हाम्रो विमानस्थलको स्तरोन्नती र गुणस्तरीय होटल सेवा हुन आवश्यक छ । नेपालको हवाई सुरक्षामा प्रश्न उठ्ने गरेको छ, त्यसको लागि राम्रो प्रवन्ध गरियोस ।’

शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनेतर्फ सरकारले विशेष पहलकदमी लिनुपर्नेपनि उनको सुझाव छ । उनले भने,‘नेपालको शिक्षाको गुणस्तर बढाउनेगरि लगानी हुनुपर्छ । शिक्षामा जहिल्यैपनि बजेट कम हुने गरेको गुनासो छ । देशको मुख्य पिलर मानिएको यस क्षेत्रको सर्वाङ्णि विकासको लागि यसपटक सरकारले ध्यान दियोस । नेपालमा समयमा परीक्षा नहुने, समयमै नतिजा पनि नआउने र आएको नतिजामा ह«ास देखिएका छ। यसमा बृहत्त सुधारको आवश्यकत्ता छ । अर्को महत्वपूर्ण क्षेत्र स्वास्थ्यमा देशव्यापी रूपमा विशिष्ट सेवा दिने क्षमताका अस्पताल बनाईनुपर्छ । स्वास्थ्य सेवाको गुणस्तर वृद्धिको लागि दक्ष जनशक्तिको खाँचो नहोस । पछिल्लो समय चिकित्सक र नर्सहरुको विदेश पलायनको कुरा पनि आईरहेको छ । उनीहरुलाई देशमै रोक्न सक्नुपर्छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामा ध्यान दिईयोस ।’

नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा युवा पुस्ताले राम्रो उन्नयन गरेको भन्दै यसको व्यवसायीकरणमा ध्यान दिनेगरि बजेट सुनिश्चित् गरिनुपर्ने महतोको माग छ । साना, छरिएका, दोहोरिएका, स्रोत सुनिश्चित् नभएका र सम्पन्न हुन वर्षौवर्ष समय लाग्ने अहिलेका आयोजना संख्यामा कटौती गरिनुपर्ने उनको अर्को सुझाव छ । क्रमागत योजनाको बारेमा गम्भीर समिक्षा गर्न उनको आग्रह छ । महतोले साईबर सेक्युरिटीमा देखिएको चूनौतिलाई सामना गर्नेगरि सरकारले कदम चाल्नुपर्ने बताए ।

डा. महतोले नेपालले पछिल्लो समय कुटनीतिक कौशलता देखाउन नसकेको गुनासो पोखेका छन् । उनले भने,‘भारत र चीनजस्तो भीमकाय अर्थतन्त्र भएका मुलुकबाट नेपालले पर्याप्त लाभ लिन सकेको छैन् । विकसित देशसँग नेपालले ईकोनोमिक डिप्लोमेसीलाई बढावा दिनुपर्छ । अहिलेको जल्दोबल्दो विषय जलवायु परिवर्तनपनि भएकोले क्लाईमेट जस्टिसको लागि नेपालले विश्व मञ्चमा आफ्नो आवाज बुलन्द पार्नुपर्छ ।’

नेपालको विकासमा वन क्षेत्र बाधक बन्न नहुने उनको तर्क छ । उनले भने,‘महत्वपूर्ण आयोजनाका लागि वन क्षेत्रको प्रयोग, जग्गा प्राप्तिलगायत विषयमा सहजीकरण होस । जलविद्युत् उत्पादन र प्रसारण आयोजनामा निजी पुँजी परिचालन गर्ने कुरा सकारात्मक छ । योसँगै सौर्य ऊर्जा विकासमा विशेष ध्यान दिईयोस । विनियोजनमा ३ करोडभन्दा तलका आयोजना नराखिने भनिएको थियो यसबारे सिद्धान्त र प्राथमिकतामा स्पष्ट नभनिएकोले यसबारेमा स्पष्ट रूपमै आउनुपर्छ ।’

निजी क्षेत्रले लगानीसम्बद्ध एकीकृत निकाय र कानुनसहित लगानी दशक घोषणा गर्न अघि सारेको मागप्रति महतोले समर्थन जनाए । यस्तै, साधारण खर्च घटाइ विकास खर्च बढाउनपनि उनको सुझाव छ । उनले नीतिमा नवीनतासँगै कामयाबी कार्यक्रम हुँदामात्रै देश विकास र समृद्धिको मार्गमा अघि बढ्नसक्छ । यही मूल मर्मलाई आमत्सात गरेर बजेट आउँदा राम्रो हुन्छ ।’