विराटनगर, ३० बैशाख । गृहमन्त्री रमेश लेखकले अहिलेको कांग्रेस–एमालेको गठबन्धन तलमाथि नहुने दाबी गरेका छन् । उनले सरकार भ्रष्टाचारलाई निर्मूल पार्नेगरि अघि बढेको दाबी गरे । आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थायित्व कायम भएको जिकिर गरे । उनले भने,‘यो सरकारको पहिलो उद्देश्य भनेको राजनीतिक स्थिरता पनि हो, यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्याउँछ ।’ कसैले चाहँदैमा गठबन्धन तलमाथि नहुने उनको दाबी छ ।
उनले भने,‘यो गठबन्धन पूरै अवधि टिक्छ, कसैले फोटो खिचेको भरमा वा टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पुरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ ।’ सो अवसरमा अख्तियारसम्बन्धी विद्येयकपनि सहमतिमै अघि बढाईने मन्त्री लेखकले विश्वास दिलाए । file photo




प्रतिक्रिया