काठमाडौं, ३१ वैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले दुई तिहाइको बलियो सरकारले यतिलामो समयसम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसकेको भन्दै आपत्ति जनाएकी छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गभर्नर नियुक्तिको विषयले राष्ट्रकै बेइज्जती भइसकेको बताईन् । उनले योग्य र सक्षम व्यक्तिलाई तत्काल गभर्नर नियुक्ति गर्न आग्रह गरेकी छन् ।
‘दुई तिहाइको यति बलियो सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला ? गभर्नर नियुक्तिको सन्दर्भमा बाहिर जुन चर्चा भइरहेको छ । सरकारमा आवद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गर्दा भर्नर नियुक्ति हुन सकिरहेको छैन भन्ने कुरा बाहिर आइरहेको छ । यसले राष्ट्रकै बेइज्जत भइरहेको छ । त्यसकारण राष्ट्रको बेइज्जती नगर्न र सक्षम, योग्य व्यक्तिलाई भर्नर नियुक्त गर्न आग्रह गर्छु,’– उनले भनिन् ।
सांसद शर्माले गभर्नर नियुक्तिको विषय संसद्भित्र, संसद्बाहिर, मिडिया सबैतिर चर्चा हुन थालेको पनि लामो समय भइसकेको र ग्रे–लिस्टबाट मुक्त गर्नुपर्ने अवस्था रहेको पनि बताईन् । यस्तो अवस्था र देशको अर्थतन्त्र सबलीकरणका लागि तत्काल योग्य गभर्नर नियुक्ति गरिनुपर्ने उनले बताईन् ।




प्रतिक्रिया