काठमाडौं, ३१ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा विभाजित भएका छन् । गत वैशाख २१ गते एनआरएनएको एकता महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भयो । उक्त एकता महाधिवेशनमा परराष्ट्रमन्त्री डा.राणा सहभागी थिईन् । एकता महाधिवेशन अस्वीकार गर्दै प्रधानमन्त्री ओली भने सहभागी भएनन् ।
गत २०८० कात्तिकमा भएको एनआरएनएको निर्वाचनमा बद्री केसी अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धीहरु आरके शर्मा दोस्रो र महेश श्रेष्ठ तेस्रो भइ पराजीत भएका थिए । परराष्ट्रमन्त्री डा.राणाले एकता महाधिवेशनको नाममा अघिल्लो महाधिवेशनमा तेस्रो भएको व्यक्तिलाई सर्वसम्मत अध्यक्ष बनाईन् । प्रधानमन्त्री ओलीले भने २०८० को निर्वाचित कार्यसमितिलाई मान्यता दिइरहेका छन् । प्रधानमन्त्री ओली आज उक्त समूहले आयोजना गरेको ‘विश्व सम्मेलन’ मा सहभागी भए ।
उक्त कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले हारेकाहरुले एनआरएनए विभाजन गर्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले विभाजन गर्ने खोज्नेहरु सफल नहुनेसमेत बताए । ‘हारेका १७ जनाले हामीले अर्कै संगठन बनायौं भन्न मिल्छ रु गर्नै नहुने कुरा हो यो । यस ढंगले विभाजन गर्ने प्रयास सफल हुन सक्दैन । हुन पनि हुँदैन । स्वार्थका लागि विभाजन गर्न मिल्दैन । यो कुनै राजनीतिक दलको संस्था होइन । हामीले ध्यान दिनुपर्छ,’– प्रधानमन्त्री ओलीले भने ।
बद्री केसी नेतृत्वको एनआरएनएले आयोजना गरेको आजको कार्यक्रममा परराष्ट्रमन्त्री राणा भने सहभागी भइनन् । एनआरएनए परराष्ट्र मन्त्रालय मातहतको संस्था हो । विभागीय मन्त्रीले अस्वीकार गरेको उक्त कार्यक्रमलाई प्रधानमन्त्री ओलीले भने समर्थन गरे । एनआरएनएलाई लिएर प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा प्रष्ट रुपमा विभाजित भएका छन् ।




प्रतिक्रिया