बजेट रकमान्तरमा सरकारको मनपरी


काठमाडौं, ३१ वैशाख । संघीय सरकारले कानूनविपरीत बजेट रकमान्तर गरेको पाइएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा २ खर्व ५६ अर्व ४१ करोड ३ लाख रकमान्तर भएको छ । कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रहेकोमा रकमान्तर भएको रकम १४.६४ प्रतिशत हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली-२०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था भए पनि यो वर्ष साे अवधिमा ११ अर्ब ६४ करोड ७ लाख रकमान्तर महालेखको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख थियो । यस वर्ष ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख राष्ट्रिय गौरवबाहेकका अन्य आयोजनाहरूमा रकमान्तर गरेको पाइएको छ ।

विनियोजन ऐन, २०८० को दफा ३ (४)मा अनुदान सङ्केत ६०१ र ६०२ मा विनियोजन भएको रकम जुन अनुदान सङ्केतमा निकासा र खर्च हुने हो सोही अनुदान सङ्केतमा रकमान्तर गरी निकासा र खर्च लेख्न सकिने व्यवस्था रहे पनि ती सङ्केतबाट ७५ अर्ब ११ करोड १३ लाख अन्यत्र खर्च भएको पाइएको छ । File Photo/RN