काठमाडौं, १ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले आफूले नेतृत्व गरेको संस्था नै आधिकारिक रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू निर्वाचनबाट निर्वाचित र अदालतले पनि आधिकारिकता प्रदान गरेको एनआरएनएको अध्यक्ष रहेको बताएका हुन् । एनआरएनएको एकता महाधिवेशन भनेर गरिएको महाधिवेशनमा २२ पदाधिकारीमध्ये गत ११औं महाधिवेशनमा हारेका व्यक्तिहरु रहेको उनले बताए । उनीहरुले चुनाव हारेपछि सम्मानपूर्वक हार स्वीकार गर्न नजानेको बताए ।
‘एनआरएनए फुटेको छैन । त्यहाँ २२ जनाको कमिटीमा १७ जना २०२३ अक्टोबरमा चुनावमा पराजित भएका साथीहरु हुनुहुन्छ । मन मिलने भने, चुनावमा पराजीत भयो भने छुट्टै समूह खोल्नुपर्छ भन्ने खालका साथीहरु हुनुहुन्छ । कसैले आधिकारिक भन्नु वा नभन्नु भन्दा पनि त्यसको विधान के छ ? विधानअनुसार सदस्यता वितरण भएको छ कि छैन ? विधानअनुसार प्रतिनिधिहरु आएका छन् कि छैनन् ? बेमौसमको निर्वाचन हो कि हुनुपर्ने निर्वाचन हो ? यी सबै कुराहरुको विष्लेषण गरेपछि मात्रै आधिकारिकता हुन्छ,’– उनले भने,र्‘एनआरएनमा मलाई कसैले आधिकारिक भन्नु नभन्नु भन्दा पनि म दुई पटक विजयी भएको छु । पहिलो म चुनावमा भोट पाएर विजयी भएँ । दोस्रो मलाई अदालतले आधिकारिक भनेको छ । १०औं महाधिवेशनमा समस्या भयो भन्दैमा ११औं महाधिवेशनको स्वयत्तता र सार्वभौमतामा प्रश्न गर्न पाइँदैन । विजयी भएर आएकाले वैधानिक रुपमा काम गर्न पाउँछन् भनेर सर्वोच्च अदालतले भनेको छ । यो भन्दा अरु केही चाहिन्छ र ?’
एनआरएनएको अहिलेको अधिवेशन अवैधानिक रहेको उनले बताए । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गराएको भर्खरैको अधिवेशनलाई वैधानिकता दिन नसकिने उनले बताए । एकता महाधिवेशनको विरुद्धमा आफूहरु अदालत गएको भए पनि अदालतलाई नै गुमराहमा पार्ने काम भएको उनले बताए । सर्वोच्च अदालतका १७ जना न्यायाधीशमध्ये ११ जना न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने बताइएको उनले बताए । ‘न्यायाधीशका नजिकका मान्छेहरुलाई वकालतनामा राख्न लगाएर, शेष घलेको तर्फबाट २० जना वकिल थिए । तीमध्ये १४ जना न्यायाधीशको कतै न कतैबाट रिलेसन पर्ने, फर्ममा संगै काम गरेको पारेर मुद्दा हेर्न नमिल्ने बताइयो,’– उनले भने ।




प्रतिक्रिया