काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपाल विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्च हुन लागेको हो कि भन्ने प्रश्न उठाएका छन् । प्रतिनिधिसभोको बैठकमा बोल्दै किरातीले भने,‘म भर्खरै पूर्वी नेपालको विभिन्न भागमा पुगेको थिएँ, अधिकांश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो । के यो अघोषित लोडसेडिङ हो ? प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम हो ?’
उनले कुलमान घिसिङ एमडी हुँदा नाफामा गएको प्राधिकरण अहिले एकाएक किन संकटग्रस्त भनियो भनेरपनि प्रश्न उठाएका छन् । उनले थपे,‘कुलमान हुँदा नाफामा रहेको प्राधिकरण, नयाँ एमडीले प्रस्तुत गरेको श्वेत पत्रमा एकाएक सङ्कट ग्रस्त देखियो। यसबाट हामीले के बुझ्ने ? के यो प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्व तयारी हो ? आकाशमा चिल आयो चिल आयो भनेर धर्तीमा कुखुरा चोर्ने धूर्त स्यालको कथाको सूत्रले अब जनता नझुक्किने कुरा बुझ्न सरकारलाई अनुरोध गर्दछु । प्रकारान्तरले त्यस्तो हुन गए देशको निम्ति दुर्भाग्य हुनेछ। त्यो बाटोमा नजान सरकारलाई गम्भीर रूपले सचेत गराउँदछु।’




प्रतिक्रिया