अख्तियारद्वारा मोहन बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, १ जेठ । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहन बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्यितारले तत्कालीन सूचना तथा सञ्चार मन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमाथि टेरामक्स खरिद प्रकरणमा अनियमितता गरेको आरोप छ । उनीहरुबाट ३ अर्ब २१ करोड, ८३ लाख ७७ हजार १८२ विगो मागदाबी गरिएको छ ।

टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा योग्यता नपुगेको प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरिएको, टेरामक्स सम्बन्धमा सर्वोच्च अदालतबाट उत्प्रेषणयुक्त परमादेश रिट निवेदनमा भएको आदेशअनुकूल कानुनी व्यवस्था नगरी नागरिकको व्यक्तिगत सूचनामा पहु्ँच पुर्याउने गरी अनाधिकृतक तवरमा संरचना स्थापना गर्न राज्यको सम्पत्ति दुरुपयोग गरेको, बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले एकआपसमा मिलेमतो गरी सम्मानित अदालतबाट भएको आदेशको प्रतिकूल र प्रचलित कानून विपरीत निम्न कार्यहरु गरी गराई सार्वजनिक संस्था नेपाल दुरसञ्चार प्राधिकरणलाई हानिनोक्सानी पुर्याएको अख्यितारको आरोप पत्रमा उल्लेख छ ।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ (झ) बमोजिमको कसुरमा सजाय माग दाबी गरिएको छ । उक्त दफाको कसुर गरेको प्रमाणित भएमा ८ देखि १० वर्षसम्म कैद सजाय हुने छ । त्यस्तै, दफा १५ र २४ बमोजिमसमेत कैद र जरिवाना मागदाबी गरिएको छ । दफामा नपाएको ओहदा पाएँ भनेर गरिएको काममा सजायको व्यवस्था छ । जसअनुसार एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाखसम्म जारिवानाको व्यवस्था गरिएको छ । त्यस्तै, दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ । थप सजायअन्तर्गत ३ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।