काठमाडौं, १ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज (बिहीबार) अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड, ८३ लाख ७७ हजार १८२ विगो मागदाबी, जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन सूचना तथा सञ्चार मन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा योग्यता नपुगेको प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरिएको, टेरामक्स सम्बन्धमा सर्वोच्च अदालतबाट उत्प्रेषणयुक्त परमादेश रिट निवेदनमा भएको आदेशअनुकूल कानुनी व्यवस्था नगरी नागरिकको व्यक्तिगत सूचनामा पहु्ँच पुर्याउने गरी अनाधिकृतक तवरमा संरचना स्थापना गर्न राज्यको सम्पत्ति दुरुपयोग गरेको, बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले एकआपसमा मिलेमतो गरी सम्मानित अदालतबाट भएको आदेशको प्रतिकूल र प्रचलित कानून विपरीत निम्न कार्यहरु गरी गराई सार्वजनिक संस्था नेपाल दुरसञ्चार प्राधिकरणलाई हानिनोक्सानी पुर्याएको अख्यितारको आरोप छ ।
त्यस्तै, बस्नेतविरुद्ध १५ वर्ष कैद सजाय माग गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ३ (झ), दफा १५ र दफा २४ बमोजिम बस्नेतलाई कैद सजाय हुनुपर्ने माग गरेको छ । दफा ३ (झ) बमोजिमको कसुर प्रमाणित भएमा ८ देखि १० वर्षसम्म कैद सजाय हुने छ । त्यस्तै, दफा १५ दफामा नपाएको ओहदा पाएँ भनेर गरिएको काममा सजायको व्यवस्था छ भने २४ मा थप सजायको व्यवस्था रहेको छ । जसअन्तर्गत क्रमशः एक वर्षदेखि २ वर्षसम्म कैद र थप सजायअन्तर्गत ३ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । File Photo/RN




प्रतिक्रिया