रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै सोविता गौतमको टिप्पणी : विधिको शासनको देहावसान भयो


काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफ्नो पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको टिप्पणी गरिन् । उनले सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रुप रहेको भन्दै यस्तो प्रश्न उठाएकी हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गौतमले लोकतान्त्रिक गणतन्त्रमा विधिको शासनको देहावसान भएको चित्रण गरिन् । उनले भनिन्,‘इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्ने छ । गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको एउटा इतिहास लेखिएको छ ।’

उनले पछिल्लो समय दैनिकजसो सहकारी प्रकरणका जाहेरीकर्ताहरूले सार्वजनिक रुपमा नै आफूले जाहेरी नदिएको, थाहै नदिइ अभियोगपत्रमा नाम लेखिएको, किटानी उजुरी नै नहालेको मान्छेलाई उजुरीकर्ता बनाइयो भन्दै प्रश्न उठेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।