काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गणतन्त्रको विरुद्धमा राजावादीहरुको चुनौतिलाई भुसुनाको संज्ञा दिएका छन् । आज (बिहीबार) ‘संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरु’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले राजावादीहरुको चुनौति भुसुनाले टोकेजस्तै रहेको बताएका हुन् । उनीहरुको चुनौतिले गणतन्त्रमाथि कुनै पनि खतरा नरहेको नेता खनालको भनाइ छ ।
‘गणतन्त्रको विरुद्ध राजावादीहरुको चुनौति केही पनि होइन, त्यो त भुसुनाजस्तै हुन् । भुसुनाले आउँछ, टोक्छ, चिटिक्क पार्छ नि कहिलेकाँही । त्यस्तै हो । त्यो भन्दा ठूलो मलाई लाग्दैन,’– उनले भने ।
गणतन्त्रको विरुद्ध सबैभन्दा ठूलो चुनौति ठूला–ठूला पार्टी हौं भन्ने र क्रान्ति गरेर आएपछि पनि यथास्थितिको बाटोमा हिँड्नेहरुबाट रहेको उनले बताए । उनले दलभित्रै चुनौति र गम्भीर कमजोरीहरु रहेको बताए । गत चैत १५ गते राजावादी समूहरुले तीनकुनेमा आयोजना गरेको आन्दोलनमा सबै मान्छे राजावादी नरहेको उनले बताए । उनले त्यहाँ दलबाट वाक्कदिक्क भएका मान्छेहरु गएको र तिनीहरुलाई दलले आफूतिर तान्न सक्नुपर्ने बताए ।
‘१५ गते तीनकुनेमा जति मान्छेहरु भेला भएका थिए, ती सब राजावादी होइनन् । त्यहाँ थुप्रै पार्टीहरुको शासनबाट निराश भएका मान्छेहरुको ताँती थियो । ती मान्छेहरुलाई पार्टीले तान्न सक्नुपर्यो । यो देशलाई हरेक हिसाबले सम्पन्न मुलुक बनाउन सकिन्छ भनेर हामीले जनतामा आशा जगाउन सक्नुपर्यो । समस्याको जडमा समातिएन, पातहरुमा, टुप्पामा समातियो भने समस्याको समाधान हुँदैन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया