संसद्मा गगन थापा र विश्वप्रकाश शर्मा नदेखेको विषयमा सूर्य थापाद्वारा आश्चर्य प्रकट, बजेट च्यात्छु भन्नेलाई के भने ?


काठमाडौं, १ जेठ । नेकपा (एमाले) का सांसद सूर्य थापाले सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भाग नलिएकोमा आश्चर्य प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेता भनेर गगन र विश्वप्रकाशको बारेमा भन्न खोजेको बुझिन्छ । उनले नाम नलिएपनि पछिल्लो समय गगन थापाले सदनमा सक्रियता नदेखाएको विषयमा प्रश्न उठाईएको थियो ।

उनले भने,‘नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्युहरू र भेट्रान नेताज्यहरूलाई सक्रिय देखिरहेको छैन, मलाई आश्चर्य लागेको छ, ’हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्युहरूले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन ।’

कांग्रेस सांसद अर्जुननरसिंह केसीले बालाजु–रानीपौवा सडक खण्डको स्तरोन्नतीको लागि बजेट नहाले बजेट पुस्तिका नै च्यात्ने चेतावनी दिएका थिए । त्यही विषयमा सांसद थापाले आज उठाएका हुन् । उनले भने,‘यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ । यसअघिका तीन जना अर्थमन्त्री त्यही क्षेत्रबाट बन्नु भएको रहेछ । हामी नयाँ सांसदहरूलाई पुराना, पाका र अग्रज सांसदहरूले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि ?’ file photo