काठमाडौं, १ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले अहिलेको नवनिर्वाचित पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाउने ठाउँ नै नरहेको बताए । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू निर्वाचित भएपछि एनआरएनएको पूर्ण एकताको प्रयास गरिरहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दिएको अभिव्यक्तिले केही आशंका उत्पन्न गराएको उनले बताए । ‘प्रधानमन्त्रीज्यूको हिजोको अभिव्यक्तिबाट केही आशंका उब्जेको देखिन्छ । यसमा मलाई के लाग्छ भने प्रधानमन्त्रीज्यूमा गलत बुझाइ पनि हुनसक्छ,’– उनले भने ।
आफूहरु सरकारको विकास साझेदार हुन चाहेको पनि उनले बताए । अध्यक्ष श्रेष्ठले आफूहरु नेपालको विकासका लागि छोटो अवधिको योजना, मध्यम अवधिको लगानी र लामो अवधिको योजना बनाएर काम गर्न चाहेको उनले बताए । अहिले एनआरएनएको बद्री केसी समूह एकता महाधिवेशनबाट बाहिर रहेको बताउँदै उनले सबैलाई समेट्ने प्रयास भने भइरहेको बताए ।
उनले एकताको लागि बद्री केसी र पूर्व अध्यक्षहरुसँग पनि कुराकानी भइरहेको र उनीहरु पनि एकता हुनुपर्छ भन्ने पक्षमै रहेको बताए । प्रधानमन्त्री ओलीले हिजोको अभिव्यक्तिले भने एकता भाँडिने हो कि भन्ने डर भने रहेको उनले बताए । प्रधानमन्त्री ओलीले हिजो बद्री केसी समूहले आयोजना गरेको एनआरएनएको विश्व सम्मेलनमा श्रेष्ठ समूहलाई हारेकाहरुको टिमको आलोचना गरेका थिए ।
‘बद्री केसीजीहरु यसबाट छुट्टिनु भएको छ । अहिलेको महाधिवेशनमा उहाँहरु आउनु भएन । तर पनि हाम्रो उद्देश्य सबैलाई समेट्ने भन्ने नै छ । हामी सबैलाई समेटेर लिएर जान चाहन्छौं । यस विषयमा कुराकानी पनि भइरहेको छ । बद्री केसी, पूर्व अध्यक्षज्यूहरुसँग पनि कुराकानी भइरहेको छ । सबै एक भएर लाग्नुपर्छ भन्ने चाहना सबैको छ । यसमा विशेष गरेर प्रधानमन्त्रीले पनि सकारात्मक रुपमा लिइदिनुभए धेरै राम्रो हुन्थ्यो । हिजोको उहाँको अभिव्यक्तिले एकतालाई सहयोग नपुर्याउन पनि सक्छ,’– उनले भने ।
अध्यक्ष श्रेष्ठले एनआरएनए एक ठाउँमा आएर नेपालमा देखिएको आर्थिक अभावलाई सहयोग गर्न सक्ने बताए । उनले एनआरएनएहरु अहिले नेपालको कूल जीडीपीभन्दा बढ गुणा सम्पत्ति लिएर बसेको र उनीहरु नेपालमा लगानी गर्न तयार रहेको पनि बताए ।

त्यस्तै, एनआरएनएका महासचिव बाबुराम लामाले सर्वोच्च अदालतको परमादेशबाट एकता महाधिवेशन भएर आफूहरु निर्वाचित भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउने ठाउनै नरहेको बताए । ‘एकता अधिवेशन मे ३ र ४ तारेखमा भयो । त्यो अधिवेशन भनेको सर्वोच्च अदालतको परमादेशले सम्पन्न भएको एकताको अधिवेशन थियो । सर्वोच्च अदालतभन्दा माथि कोही पनि हुन सक्दैन,’– उनले भने ।
एनआरएनएभित्र समस्या १०औं अधिवेशनबाट सुरु भएको उनले बताए । सन् २०२१ को अधिवेशनमा प्रतिनिधि र सदस्यता बनाउने सन्दर्भमा विवाद सुरु भएको उनले बताए । त्यतिबेला आफूहरुले समस्या समाधानको लागि आह्वान गरे पनि अर्को पक्षले नचाहँदा समस्या आएको उनले बताए ।

सचिव चिन्तामणि सापकोटा नेपालमा लगानी भित्र्याउने, विदेशमा हुने नेपालीलाई सहयोग गर्ने, देशको विकासमा टेवा पुर्याउनेलगायतका विषयमा एनआरएनएले काम गर्नुपर्नेमा गलत मान्छेलाई मेम्बरसीप प्रदान गर्नेतर्फ बद्री केसीको टिममा रहेका मानिसहरुले काम गरेको बताए । उनले प्रधानमन्त्री ओलीलाईसमेत उनीहरुले गलत म्यासेज दिइरहेको सचिव सापकोटाको दाबी छ ।
‘प्रधानमन्त्रीज्यू तपाईँलाई कसैले गलत सन्देश दिइराखेका छन् । जसले तपाईँलाई हामीमात्रै एनआरएनए हौं । हामीले चलाए चल्छ, नत्र चल्दैन भनेर तपाईँमाझ आइपुग्नु भएको छ,’– उनले भने ।

त्यस्तै, अर्का सचिव टंक गैरेले आफू एनआरएनएको अभियानमा सन् २००९ देखि नै निरन्तर लागिरहेको र आफूहरुको उद्देश्य नेपाललाई समृद्ध बनाउने रहेको बताए । उनले एनआरएनएहरुले व्यक्तिगत रुपमा नेपालमा ठूलो लगानी गरिसकेको बताए ।
‘म २००९ देखि नै एनआरएनएको अभियानमा लगातार लागिरहेको छु । हाम्रो उद्देश्य भनेकै कसरी हुन्छ नेपाललाई समृद्ध बनाउने, सरकारसँग सहकार्य गरेर हामीले विदेशमा सिकेको सीप र पुँजी भित्र्याएर नेपालाई समृद्ध बनाउनुपर्छ भन्ने हो । हामीले व्यक्तिगत रुपमा नेपालमा धेरै ठूलो लगानी गरिसकेका छौं,’– उनले भने ।
एनआरएनए एक भएको खण्डमा नेपालमा निकै ठूलो आर्थिक क्रान्ति र परिवर्तन सम्भव रहेको उनले बताए ।




प्रतिक्रिया