मोहन बस्नेतबारे एमाले नेता रिजालको टिप्पणीः भ्रष्ट, उद्दण्ड र अराजकहरूलाई किनारा नगरी राजनीति शुद्धीकरण सम्भव छैन


काठमाडौं, १ जेठ । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेसका नेता एवं सिन्धुपाल्चोकबाट निर्वाचित सांसद् मोहन बस्नेतलाई भ्रष्ट, उद्दण्ड र अराजकको संज्ञा दिएका छन् । बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेता रिमालले यस्ता प्रकारको व्यक्तिहरुलाई किनारा गरेर राजनीतिक शुद्धीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

नेता बस्नेतले केही समयअघि आफू सिन्धुपाल्चोकको सरकार रहेको दाबी गरेका थिए । बस्नेतको उक्त अभिव्यक्ति स्मरण गराउँदै नेता रिजालले भनेका छन्, ‘सिन्धुपाल्चोकको सरकार भए पनि, टेलिभिजनमा अरूलाई हेप्दै चर्को स्वरमा कराउने भए पनि कानुनको दृष्टिमा सबै बराबर हुन्छन् । राजनीतिमा रहेका भ्रष्ट, उद्दण्ड र अराजकहरूलाई किनारा नगरी राजनीतिमा शुद्धीकरण सम्भव छैन ।’

नेता बस्नेत मन्त्री रहेको बेलामा टेरामक्स प्रविधि खरिद प्रकरणमा उनको संलग्नता देखिएको र क्षेत्राधिकारभन्दा बाहिरको कुरामा निर्देशन दिएको भन्दै अख्तियारले उनीसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँग नेता बस्नेतको सांसद पदसमेत निलम्बित भएको छ ।