प्रचण्डले गरे देउवासँग फोनसम्वाद


काठमाडौं, २ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फोन सम्वाद गरेका छन् । पार्टीको अभियान लिएर बैतडी पुग्ने क्रममा डडेलधुरा बास बसेका प्रचण्डले आज विहान देउवालाई फोन गरेका हुन् । देउवासँग फोनमा कुराकानी भएको कुरा स्वयम दाहालले नै खुलासा गरेका हुन् ।

यसअघि पार्टीको अभियान लिएर जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि देउवासँग डडेलधुरा पुगेपछि फोनमा कुराकानी गरेको भिडिओको अंश बाहिरिएको थियो । त्यतिवेला कांग्रेस र माओवादी केन्द्रको सरकार थियो । र, सरकारको नेतृत्व दाहालले गरेका थिए । अहिले सरकारको नेतृत्व ओलीले गरेका छन् । र, सरकारमा कांग्रेसपनि सहभागी छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनाएको अहिले १० महिना पूरा भैसकेको छ । अबको १४ महिनापछि देउवाले सरकारको नेतृत्व लिनेछन् । प्रधानमन्त्री ओली स्वयमले पनि हिजो देउवालाई किस्तीमा राखेर प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । प्रचण्ड भने सरकार आफ्नै कारणले ढल्ने र आफूहरु सरकार परिवर्तनको खेलमा नलागेको दाबी गरिरहेका छन् ।

आफूहरुलाई कैलालीदेखि नै न्यानो स्वागत गरिएको भन्दै दाहालले कृतज्ञता प्रकट गरे । उनले भने,‘यहाँका राजनीतिक दलका नेताहरुले पनि स्वागत गर्नुभएको छ। यो जिल्ला शेरबहादुरजीको जिल्ला भनेरपनि चिनिन्छ, उहाँले मेरो जिल्लामा स्वागत छ भन्नुभयो । अरु नेताले पनि स्वागत गर्नुभएको छ ।’