काठमाडौं, २ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको बजेट नेताहरुको निजी सम्पत्ति हो कि नेपाली जनताको साझा सम्पत्ति हो ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोज विद्येयकमाथिको छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो प्रश्न उठाएका हुन् ।
उनले भने,‘नेपालको बजेट नेपाली जनताको साझा सम्पत्ति हो भने समान ढंगले वितरण हुनुपर्छ । तर, हामी विडम्बना नै भन्नुपर्छ यहाँ त जसको हात उसैको जगन्नाथ भएको छ । नेताहरुको क्षेत्रमा मालामाल, आम नेपाली नागरिकको बेहाल ।’ उनले बजेटको समान वितरण नभएकोमा कडा आपत्ति जनाए ।
उनले भने,‘आज १८ खर्बको बजेट विनियोजन हेर्ने हो भने नेपालमा १६५ वटा निर्वाचन क्षेत्र छन्, यो १८ खर्बलाई निर्वाचन क्षेत्रमा भाग लगाउनुहुन्छ भने झण्डै ११ अर्ब बजेट पर्छ, म सांसदहरुलाई भन्न चाहन्छु–तपाईंको क्षेत्रमा ११ अर्ब बजेट पुगेको छ ? नेपालमा ६ हजार ७ सय ४३ वटा वडा छन्, १८ खर्बलाई वडाहरुको संख्याले भागा गर्ने हो भने झण्डै २६ करोड रुपैयाँ पर्छ । नेपालमा ७५३ वटा पालिका छन्, यो १८ खर्बलाई यी पालिकामा भागा लगाउने हो भनेपनि एउटा २३९ करोड रुपैयाँ पर्छ । यसरी एक सालमा यसरी बजेट विनियोजन हुने हो भने नेपालमा विकासको प्रवाहलाई कसैले रोक्न सक्दैन् ।’
उनले राज्यसत्तासँग पहुँच नभएको वडामा एक करोडपनि बजेट नगएको र पहँुच भएका नेताहरुको वडामा २६ अर्ब रुपैयाँ बजेट गएको भन्दै आक्रोश पोखे । पहुँचको आधारमा बजेटको दुरुपयोग नगर्नपनि साहले चेतावनी दिए । उनले भने,‘म माननीय अर्थमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु कि कम्तिमा तपाईंको पालामा बजेटको समान वितरण सुरु गर्नुहोस । कम्तिमा पुँजीगत पैसा जो विकास पैसा हो, यसको पनि समान वितरण दुनियाँले हेरोस ।’
उनले नेपालको हरेक परिवर्तनको आन्दोलनमा मधेशलाई अग्रणी भूमिका खेलेकोपनि स्मरण गराए । त्यही आन्दोलनको बलमा आएका नेताहरुले अहिले विभिन्न तन्त्रको अभ्यास गरिरहेको पनि उनले सनुाए । तर, आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेको मधेश र ती ठाउँलाई किन विभेद गरेको भन्दै उनले प्रश्न उठाए ।
उनले भने,‘तराई/मधेशले तपाईंहरुलाई के बिगारेको छ भनेर म सोध्न चाहन्छु । हिजो देशको एउटा समृद्ध क्षेत्र, आज मानव विकास सूचांककमा पछाडि छ । हिजो देशलाई नै दुई तिहाई आर्थिक योगदान गर्ने क्षेत्र आज सबैभन्दा पछाडि हुँदा यहाँको शासन सत्ता चलाउनेहरुलाई लाज लाग्नुपर्ने हो ? जो प्रकृतिले पछाडि पारेको छ, उ पछाडि पर्नु स्वभाविक हो । तर, तराई मधेश प्रकृतिले पछि पारेको होईन। जसले त्यो क्षेत्रलाई प्रयोग गरेर आज शासनमा आए उनीहरुले गद्दारी गरे, धोका दिए । त्यही कारणले आज त्यो क्षेत्र पछाडि छ ।’
उनले मधेश हरेक दृष्टिकोणले पछि परेको जिम्मा कसले लिन्छ ? भनेर प्रश्न सोधे । उनले भने,‘हिजो अगाडि थियो, आज किन पछि पार्नुभयो, मधेश पछाडि पारेको जिम्मा कसले लिने ? आज हेरिरहेका छों कि काठमाडौंमा १०, १५ जना विद्यार्थीमा एउटा टिचर छ, तर तराईमा १०० देखि १५० विद्यार्थीमा एउटा टिचर पर्छ, देशको भविष्यको कर्णाधार विद्यार्थीहरुप्रति यसरी विभेद गर्न मिल्छ ? दरबन्दीको कारण होईन आज तपाईंको कुनीति र कुशासनको कारण यस्तो बनिरहेको छ । गुणस्तरीय शिक्षा सबैलाई चाहिँदैन, यदि चाहिन्छ भने मधेशप्रति किन विभेद गर्नुभयो भन्ने प्रश्न आउँछ ।’




प्रतिक्रिया