राजतन्त्र फर्काउने प्रतिगमनकारीको प्रयास असफल हुने शिवाय केही हुने छैन : प्रधानमन्त्री ओली


काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२औं स्मृति दिवसका अवसरमा आज (शनिबार) मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिएका हुन् ।

‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ’, अध्यक्ष ओलीले भने–‘पार्टी भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरू निरङ्कुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन, आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लाग्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई नेकपा ९एमाले०ले कहिल्यै नछोडेको स्पष्ट पारे । उनले अब नेपालमा कुनै प्रकारको प्रतिगमन सम्भव नभएको र स्वीकार्य नहुने बताउँदै आफ्नो नेतृत्वको सरकारको समयमा मुलुक अग्रगमणको सुनिश्चिततामात्र सम्भव रहेको बताए ।

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने प्रतिगमनकारीको प्रयास असफल हुने शिवाय केही हुने छैन पनि भने । ओलीले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सके पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरूले व्यक्ति केन्द्रित गरेर अनेक षड्यन्त्र र प्रहार गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्कका साथ अघि बढ्न आग्रह गरे । विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको उनले स्मरण गरे ।

प्रधानमन्त्री ओलीले जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रुपमा हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र क्रमशः दुई तिहाइको अवस्थासम्म पुर्याएको बताए ।