काठमाडौ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको विरुद्धमा बोलेको समाचार संसदीय दलको बैठकमा एक सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई देखाएका छन् । कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छाराम) का अनुसार बैठक सुरु हुनेबित्तिकै एक सांसदले देउवालाई उक्त समाचार देखाए । समाचार हेरेर देउवा हाँसेका थिए । एमालेको एक कार्यक्रममा ओलीले कांग्रेस पनि सत्ता गठबन्धनमा रहँदा विकासको गति धिमा भएको बताएका थिए । विकासलाई तीब्र रुपमा अगाडि लैजान एमालेलाई बहुमत दिन उनले आग्रह गरेका थिए ।
‘कांग्रेसले गर्दाखेरी विकास धेरै तल पर्यो रे । एमालेले भोट पायो भनेदेखि चाहीँ विकासको काम अगाडि बढ्छ रे भन्ने कुरा हाम्रो साथीले लगेर सभापतिज्यूलाई देखाउनुभयो । हाँस्नुभयो,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कान्छारामले भने ।
साथै, बैठकमा प्रधानमन्त्री ओलीले प्रतिशोध साँधेर कांग्रेसका नेताहरुलाई पक्राउ गर्नेलगायतका काम गरेको भन्दै सांसदहरुले गुनासो पोखेका थिए । सांसदहरुको गुनासोलाई देउवाले पहिलोचोटी गम्भीर रुपमा सुनेको पनि कान्छारामले बताए । ‘हाम्रो पार्टी सभापति, संसदीय दलको नेता शेरबहादुर देउवा आजजतिको सिरियसली सुनेर, यती सिरियस भएको पहिलोचोटी हो,’ उनले भने, ‘आजस्तो उहाँले सिरियसली लिनुभयो । लामो पनि बोल्नुभयो । अब यो सिरियसली लिनुभएको काम चाहीँ अब थाहा हुन्छ ।’




प्रतिक्रिया