सांसद कार्कीको प्रश्न : सोसल मिडियामा लेखेकै आधारमा थुन्नु गणतन्त्र हो ?


काठमाडौं, ४ जेठ । राप्रपाकी सांसद रोशन कार्कीले सोसल मिडियामा लेखेकै आधारमा थुन्ने काम गरेको भन्दै सरकारको आलोचना गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सोसल मिडियामा लेखेकै आधारमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न उठाईन् । उनले संसद्लाई ढाँट्ने थलोको संज्ञा दिईन् ।

उनले भनिन्,‘संसद् ढाँट्ने थलो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरस ठाउँ त केही पनि छैन । यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरू सुनिँदो रहेनछ । यहाँ कुर्सीहरू खाली हुँदा रहेछन्, सरकारले जहिले पनि जनतालाई सांसदहरूको मार्फतबाट ढाँट्दो रहेछ । यो बजेट बनिसक्छ । मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ । नाटक हुन्छ त्यहाँ पनि । हामी संशोधन हाल्छौँ, गम्भीर हुन्छौँ ।’

उनले अहिलेको सरकार भ्रष्टाचारबाट व्याप्त भएको र गभर्नरसमेत नियुक्त गर्न नसकेको भन्दै आलोचना गरिन् । उनले रेमिट्यान्सको नाममा काला धन भित्र्याउने काम नगरोस भनेर सरकारलाई सचेतसमेत गराईन् । उनले गभर्नरको लागि तीन अर्बको सम्मको मोलतोल भएको आरोप लगाईन् ।