नाउपाभित्रको चर्को विवादबीच सुदूर सरकारको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त


काठमाडौं, ४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद् रामेश्वर चौधरी नियुक्त भएका छन् । नवनियुक्त मन्त्री चौधरीको आज साँझ ५ बजे शपथ ग्रहण कार्यक्रम रहेको छ ।

यसअघि नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरी उद्योगमन्त्री थिए । विवादित अडिओ काण्डमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका थिए । लक्ष्मणकिशोरले राजीनामा दिएपछि नाउपालाई सुदूरपश्चिम सरकारमा मन्त्री पठाउन सकस भएको थियो । नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सफारिस गर्न नसकेपछि मन्त्री छान्ने जिम्मा केन्द्रलाई दिइएको थियो ।

त्यसपछि केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलाश चौधरीलाई मन्त्री सिफारिस गरेकी थिईन् । त्यसको भोलिपल्टै नाउपा सुदूरपश्चिम संसदीय दलको बैठक बसेर दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गरिएको थियो । घनश्यामले आफू मन्त्री नबन्ने भन्दै रामेश्वरलाई सिफारिस गरेर मुख्यमन्त्रीको कार्यालयलाई पत्र लेखेका थिए ।

प्रदेश संसदीय दलको निर्णयविपरीत घनश्यामले रामेश्वरलाई मन्त्री सिफारिस गरेको भन्दै अर्का सांसद खुसीराम डगौरा थारुभने विरोधमा उत्रिएका थिए । उनले मुख्यमन्त्री कार्यालयलाई पत्र लेख्दै रामेश्वरलाई मन्त्री सिफारिस गरी लेखिएको पत्र आधिकारिक नरहेको बताएका थिए ।