सरकार ढलाउने र बनाउनेतर्फ माओवादीको ध्यान छैनः प्रचण्ड


काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने र बनाउनेतर्फ नरहेको बताएका छन् । जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफू नेतृत्वको सरकारले सुरु गरेका कामलाई समेत भत्काएको बताए । यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ थियो ।

‘बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दैआएको छु ।’

तराइ मधेस जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताए । मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए ।

मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ की भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताए । माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पुर्र्याएको उनको भनाइ थियो ।

दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उनले बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए । पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताए ।