प्रभु साहको प्रश्न : यो सरकार विचौलिया र लुटेराको मात्रै हो कि आम जनताको पनि हो ?


काठमाडौं, ५ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लघुवित्त पीडितहरुसँग भएको सम्झौता पालना नभएकोमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले लघुवित्त पीडितहरु अहिलेपनि सडक संघर्षमा रहेको भन्दै उनीहरुसँग भएको सहमति पालना गर्न सरकारको ध्यानाकार्षण गराएका छन् ।

उनले भने,‘आजभन्दा झण्डै एक वर्षअघि सरकारले लघुवित्त पीडितहरुसँग सम्झौता गरेको थियो । बास्तविक पीडित पहिचान गर्न कार्यदल गठन गरेको थियो । डेपुटी गभर्नरको नेतृत्वमा गठित त्यस कार्यदलले गत असारमै प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन किन सार्वजनिक गरिएन भनेर म सरकारसँग सोध्न चाहन्छु । त्यो प्रतिवेदन सार्वजनिक नगरेकै कारण आज लाखौं कालो सूचिमा परेका वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भक्ता पाएका छैनन् । विद्युवा, अपांगहरुले सरकारबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको छ ।’

साहले सरकारको गैरजिम्मेवारी भूमिकाको कारण वृद्धाहरुसमेत पीडित हुनुपरेको अवस्थाको चित्रण गरे । उनले भने,‘लाखौं लघुवित्त पीडितहरु आज अन्यौलमा छन्, उनीहरु सडकमा आएका छन् । शासकलाई केही भयो भने छिटो सुनुवाई हुन्छ । एउटा सिंगल व्यक्तिले प्लेकार्ड लिएर उभियो भने मिडियाको ब्यानर न्यूज बन्छ, संसद तात्छ, सरकारले तुरुन्तै सम्बोधन गर्छ । तर, आज लाखौं गरिबहरुले आफ्ना घर बेघर भएर आफ्ना बच्चाहरु छोडेर काठमाडौंमा वर्षौदेखि यसरी लडिरहँदा सरकार यसरी संवेदनहीन हुन मिल्छ कि मिल्दैन ?’

उनले सरकार विचौलिया र लुटेराकोमात्रै हो कि आम जनताको पनि हो ? भनेर प्रश्न तेर्साए । उनले थपे,‘यदि आम जनताको हो भने यी लाखों जनता यसरी पीडित छन्, लुटिएका छन, तिनीहरुको मर्कामा सरकार किन जिम्मेवार हुन सक्दैन् ? न्याय सबैलाई चाहिन्छ, त्यो न्याय लघुवित्त पीडितहरुलाई पनि हुनुपर्दछ ।’ साहले लघुवित्त सञ्चालन गर्नेहरुले मनपरी गरेको र मनपरी शुल्क लिएको पनि टिप्पणी गरे ।

उनले भने,‘लघुवित्तवालाहरुले मनपरी शुल्क लगाएर जो १५ प्रतिशत, १० प्रतिशत लिने कानूनको तीन गुणा बढाएका छन् । इमर्जेन्सी शुल्क, सेवा शुल्क, बचत शुल्क, यसरी शुल्कहरु दर्जनौं बनाउने लघुवित्तपिच्छे यसरी शुल्क लिईएको छ, अलग अलग शुल्क र कानून बनाएर गरिबहरुलाई लुट्ने काम भएको छ । यसरी लुट्नेहरुको पहिचान भैसकेको छ, डेपुटी गभर्नरको नेतृत्वमा गठित कार्यदलले प्रतिवेदन तयार पारिसकेपछि त्यो कार्यान्वयन गर्नुपर्ने थियो नि, आज सरकार गैरजिम्मेवारी भएर कानमा तेल हालेर सुतेको छ, यसले हाम्रो अर्थतन्त्रलाई चौपट बनाएको छ, मानवतामाथि नै प्रश्न खडा भएको छ। के मानवता मरेको हो ?’ उनले अहिले पीडितलाई पीडा दिने र ठगहरु खुलेआम हिँडेको अवस्था रहेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।