मुस्लिम धर्मावलम्बीलाई सुँगुरको खोरमा थुनेर कुटपिट गर्नेलाई हदैसम्म कारबाहीको माग


काठमाडौं, ५ जेठ । सामान्य लेनदेनको विवादमा तस्लिम अन्सारी र सलिम अन्सारीलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका–५ मा सो घटना भएको र उक्त घटना अपराधिक र अमर्यादित काम रहेको बताएका हुन् ।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले उक्त घटनामा संलग्नहरुलाई कानूनी कारबाही हुनुपर्ने बताए । ‘त्यस्तो काम गर्ने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनुपर्छ,’– उनले भने ।

त्यस्तै, अर्का वक्ता नुर मोहम्मद मियाँले उक्त घटनाले सिंगो धर्म र समुदायमाथि प्रहार गरेको बताए । ‘सामान्य लेनदेनको विवादलाई लिएर सिंगो समुदाय र धर्ममाथि प्रहार हुने गरेर दुई जना दाजुभाइलाई बंगुरको खोरमा लगेर थुनेर कुटपिट गर्ने, यातना दिने र सिंगो समुदायमाथि प्रहार गर्ने काम भएको छ । त्यसले सिंगो समुदाय, सिंगो धर्म र नेपालीको मन दुखेको छ,’– उनले भने ।

नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले प्रहरी प्रशासन, कानून नियमलाई नमानेर कसैलाई सुँगुरको खोरमा थुनिनु जघन्य अपराध रहेको बताए । मुस्लिमहरुको परिवारमा सुङ्गुर, बुङ्गुर बर्जित रहेको बताउँदै उनले यस्तो गरिनु अपराध हुने बताए ।

मुस्लिम अभियन्ता ताज मोहम्मद मियाँले आफूहरुमाथि बारम्बार यस्ता घटनाहरु दोहारिइरहेको बताए । केही महिनाको शृङ्खला हेर्दा विभिन्न व्यक्तिहरुले भड्काउपूर्ण अभिव्यक्ति र मुस्लिममाथि बर्बतापूर्ण कार्य भइरहेको बताए । यस्तो अवस्थामा राज्यसत्ता मौन बसेको भन्दै उनले आपत्ति जनाए । आफूहरु यस्ता घटनाबाट विचलित नहुने र डटेर सामना गर्ने उनले बताए ।

पूर्व सांसद कलिला खानले नेपालमा हिन्दु र मुस्लिमबीच द्वन्द्व गराउने अवस्था सिर्जना गर्न खोजिएको बताईन् । अहिलेसम्म इतिहासमै नभएको घटना मुश्लिम समुदायमाथि भएको भन्दै उनले सुँगुरको घरमा थुन्ने कार्यमा संलग्नलाई हदैसम्मको कानुनी कारबाही गरिनुपर्ने बताईन् । ‘त्यस्तो घटिया कार्य भएको छ । त्यो हुन हुँदैन । मिलेर बसेको हिन्दु, मुस्लिम समाजमा तराईतिर भने त्यस्तो कार्य भइरहेको छ,’– उनले भनिन् ।

मुस्लिम आयोगका पूर्व अध्यक्ष समीम मियाँ अन्सारीले उक्त घटनालाई अमानवीय घटनाको संज्ञा दिए । ‘यस्तो अमानवीय घटना घट्नु आफंैमा दुःखद् हो । यसमा मुस्लिम समुदायले मात्रै होईन, नेपालमा बसोबास गर्ने, हरेक जातजाति, धर्मावलम्बीहरुले यसमा दुःख व्यक्त गरेका छन्,’– उनले भने, ‘यो सिंगो देशवासी र धर्म, आस्थाको कुरा हो । यस्ता घटनाले कहीँ कतैबाट कुनै विचौलियाले धार्मिक सहिष्ण्ुाता खल्बल्याउने प्रयास गरेको त होईन ?’

उनले हिन्दु र मुस्लिमबीचको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भाइचारा मजबुद रहेको बताउँदै कसैले चाहेर पनि नडग्मगाउने बताए । ‘हिन्दु, मुस्लिम, इसाई सबै मिलेर बसेको देश हो यो । साझा फुलबारी हो । यो देशमा यस्तो हर्कत गर्नु भनेको अपराधिक कार्य हो । काुननी कारबाही गरिनुपर्छ । यसमा छुट दिनु भनेको कानुनमाथि प्रश्न चिन्ह उठ्नेछ,’– उनले भने ।

त्यस्तै, सामाजिक अभियन्ताहरु गोविन्द बोहरा, युवराज पौडेल ‘सफल’ लगायतको उक्त घटनामा आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले त्यस्तो हर्कत गर्ने जो कोहीलाई पनि हदैसम्मको कानुनी कारबाही गरिनुपर्ने बताए ।