काठमाडौँ, ५ जेठ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका–७ स्थित श्री ज्ञान प्रकाश माध्यमिक विद्यालय, फुलबारीमा एक भव्य समारोहका बीच सरस्वती मन्दिर उद्घाटन, विद्यार्थी पोशाक वितरण, खेलकुद सामग्री हस्तान्तरण र अक्षयकोष स्थापनासहितको विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य माननीय बाबुराम गौतम रहेका थिए भने विशेष अतिथि चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज के.सी. तथा शुभमाया स्मृति प्रतिष्ठानका संरक्षक केशर बहादुर थापा, उनका सम्पूर्ण छोराछोरी र वडा नं. ७ का अभिभावकहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विद्यालय परिसरमा शुभमाया स्मृति प्रतिष्ठानद्वारा निर्माण गरिएको सरस्वती मन्दिरको उद्घाटन गरिएको थियो। साथै शैक्षिक सत्र २०८० का कक्षा १ देखि १० सम्मका उत्कृष्ट छात्र–छात्रालाई सम्मान तथा कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको थियो। विद्यालयलाई आवश्यक खेलकुद सामग्री पनि हस्तान्तरण गरिएको हो।
यस कार्यक्रमको विशेष अवसरमा विद्यालयको शैक्षिक विकासका लागि विभिन्न दाताहरूबाट अक्षयकोष स्थापना गरिएको छ। शिव कार्की र अम्बिका थापाका सुपुत्र डा. उज्जन कार्की र डा. कुशल कार्कीले आफ्नी हजुरआमा शुभमाया थापाको नाममा रु ५,००,००० (पाँच लाख) अक्षयकोष स्थापना गरेका छन्।
त्यस्तै, श्रीलाल पोखरेलले आफ्ना पिता स्व. इन्द्रलाल पोखरेलको नाममा रु १,००,००० (एक लाख), चन्द्रबहादुर खड्का र बिन्दु खड्काले ध्वजबिर र कमला खड्काको नाममा रु ५०,००० (पचास हजार) तथा श्री टिकराम बस्नेतले आफ्ना स्व. बुबाको स्मृतिमा रु ५०,००० (पचास हजार) अक्षयकोष स्थापना गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर न्यौपानेले सहयोगदाताहरूप्रति विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको गुणस्तरीय शिक्षामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।









प्रतिक्रिया