काठमाडौँ, ५ जेठ । ब्यावसायी तथा समाजसेवी शिव कार्की र अम्बिका थापाका सुपुत्रद्वय डा. उज्जन कार्की र डा. कुशल कार्कीले शैक्षिक क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका–७ स्थित श्री ज्ञान प्रकाश माध्यमिक विद्यालय, फुलबारीमा पाँच लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन्।
उक्त अक्षयकोष उनीहरूले आफ्नी हजुरआमा शुभमाया थापाको नाममा स्थापना गरेका हुन्। विद्यालय प्रशासनका अनुसार, अक्षयकोषको रकम विद्यालयमा आवश्यक शैक्षिक सामग्री खरिद, प्रोत्साहन कार्यक्रम सञ्चालन तथा आर्थिक अभावमा परेका विद्यार्थीहरूलाई सहयोग गर्न प्रयोग गरिनेछ।
डा. उज्जन र डा. कुशलले समाजप्रतिको उत्तरदायित्व बोध गर्दै उक्त सहयोग गरेका हुन्। उनीहरूद्वारा स्थापित अक्षयकोषले विद्यालयलाई दीर्घकालीन रूपमा सहयोग पुर्याउने विश्वास विद्यालय पक्षले व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर न्यौपानेले डा. कार्की दाजुभाइप्रति आभार व्यक्त गर्दै भने, “ जनसमुदायबाट प्राप्त यस्ता सहयोग प्रेरणादायी छन्। यसले विद्यालय मात्र होइन, सम्पूर्ण गाउँको शैक्षिक जागरणमा टेवा पुर्याउनेछ।”
न्यौपानेले सहयोगदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता योगदानहरूले विद्यालयको गुणस्तरीय शिक्षामा सकारात्मक र स्थायी प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, यस्ता सहयोग र प्रयासहरूले अन्य सफल तथा सक्षम व्यक्तित्वहरूलाई पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा दिने विद्यालयको विश्वास रहेको छ।




प्रतिक्रिया