काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानुपातिक निर्वाचन प्रणालीमा कुनै दलको पनि बहुमत नआउने भए पनि नेकपा (एमाले) का लागि त्यो सम्भव रहेको बताएका छन् । आज (सोमबार) नेपाल उत्पीडित जातीय मुक्ति समाजको ७औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले २०८४ मा एकल बहुमत ल्याउने उद्देश्यले काम गरिरहेको बताएका हुन् । उनले समानुपातिक निर्वाचनलाई ‘हङ्ग पार्लियामेन्ट’ प्रणालीको संज्ञा दिए । उक्त प्रणाली नेपालले चुनिसकेकाले अहिले त्यो यथावत नै राखेर एमालेले बहुमत ल्याउने ओलीको दाबी छ ।
‘हामीले मिसन २०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं । यो असम्भव छैन । यो विकल्कूल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने, नसक्ने खालको प्रणाली हामीकहाँ छ । तर, हामीले धेरै भोट र धेरै सिट ल्यायौंभने कसैले बहुमत ल्याउन नसक्ने खालको परिपाटीमा पनि बहुमत ल्याउन सम्भव छ, ल्याउन सकिन्छ । समानुपातिक प्रणाली साधारणतया हङ्ग पार्लियामेन्टको प्रणाली हो । यसले कसैको बहुमत आउँदैन । तर, हामी साधारणतयामात्रै होइन, प्रणाली हामीले चुनिसकेका छौं । अहिले यो प्रणाली नै कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्ने छ । यो चुनौतिपूर्ण छ । तर, पनि यो काम नेकपा (एमाले) का लागि सम्भव छ । मिसन०८४ एमालेको एकल बहुमत ल्याउनेगरीको तयारी, यसमा हामी जुटिरहेका छौं,’– उनले भने ।
प्रधानमन्त्री ओलीले एमालेको विरुद्धमा उभिनेहरुसँग जुध्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले शिथिल नहुन, विपक्षी र विरोधीहरुसँग जुध्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘हाम्रा विरोधीहरु, देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तीब्र ढंगबाट अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरुले हाम्रा विरुद्धमा आधुनिक विज्ञान र प्रविधिले सिर्जना गरेका अस्त्रहरुको प्रयोग गरेर हाम्राविरुद्ध आउने कोशिस गरिरहेका छन् । त्यसलाई हामीले बुझेका छौं, बुझ्नुपर्छ । त्यसका विरुद्धमा जुध्न पनि पर्छ । जुधाइमा कम भएको छ । यदि हाम्रो जुधाइ, हामीले काम राम्रोसँग गरेका छौं । विपक्षीहरुसँग, विरोधीहरुसँगको जुधाई र उनीहरुको झुठा लान्छनासँगको जुधाई पर्याप्त छैन । त्यसकारण जनतामा शिथिलता पैदा भएको छ । किनकी हामी आफैं सिथिल छौं । कसरी अरुलाई उत्साह पैदा गर्न सक्नु ? हामी शिथिल नभइ उत्साहित ढंगले अगाडि बढ्न जरुरी छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया