भदौमा अहिंसा महोत्सव हुने


काठमाडौं । नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशुअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले ‘अहिंसा महोत्सव’ आयोजना गर्ने भएको छ । आगामी भदौ १२ देखि १४ गतेसम्म राजधानीको नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा महोत्सव आयोजना गर्न लागिएको हो ।राजधानीको उत्पला क्याफे बौद्धमा शनिवार आयोजित पत्रकार सम्मेलनमा महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी गराइयो ।

‘करुणाले जोड्दछ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवले पशुपक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ ।अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबीच सम्बन्ध तथा सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको नेपाल शाकाहारी सङ्घका अध्यक्ष कृष्ण गुरुङले बताए ।

उनका अनुसार महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकाहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तक्र्रिया, सांगीतिक प्रस्तुति, योग सत्र, देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट तथा अनुभव आदानप्रदान, शाकाहारी परिकार पकाउने विधिको प्रदर्शन एवं विशेष रात्रिभोज रहनेछन् ।

महोत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको भन्दै ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको अध्यक्ष गुरुङले उल्लेख गरे । उनका अनुसार महोत्सवमा शाकाहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् ।

सङ्घले यसअघि वि.सं. २०७४ मा काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरेको आठौँ एसिया प्यासिफिक भेजिटेरियन काँग्रेस (एपीभीसी) को सफलतालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको जनाएको हो । कार्यक्रममा बौद्ध भिक्षु आङफुटी शेर्पा र डा.गोविन्द टण्डनलगायतले शाकाहार तथा अहिंसाका बारेमा आफ्ना धारणा राखेका थिए ।