हामी सबैतिरको सरकारमा छौं, तर अहिले पार्टीभित्र उकुसमुकुस र असन्तुष्टिमात्रै छः गगन थापा


काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टीभित्र उकुसमुकुस, गुनासो र असन्तुष्टि रहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सान्दाजु उपन्यास सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस तीनै तहको सरकारमा सहभागी भएर पनि खुसी हुन नसकिरहेको बताएका हुन् । तीनै तहको सरकारमा सहभागी, गभर्नर पनि कांग्रेसलाई नै र अबको केही समयपछि प्रधानमन्त्री पनि पाउने निश्चित हुँदा पनि कांग्रेसमा अहिले खुसी नरहेको उनले बताए ।

‘कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो र असन्तुष्टि छ । छट्पटाहट देखिन्छ । तर, म एउटा अवसर पनि छ भनिरहेको छु । कांग्रेसका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र क्यूरोक्रेट कुरा गर्यौं । चुनावको कुरा गर्यौं, चुनाव जित्नुपर्छ भन्यौं । को उम्मेदवार बन्ने कुरा गर्यौं । यो पटकको घटनाले हामीलाई के देखाइदिएको छ ? हामीले अहिले चुनाव जितेका छौं,’ उनले भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी हौं हामी । हामी सबैतिर सरकारमा छौं । हामी नभएको ठाउँ नै छैन । पालिका, वडा, प्रदेश संघ सबैतिर सरकार, अहिले हामीले बनाएको प्रधानमन्त्री, अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो हो । अब सबै हाम्रो । गभर्नर हाम्रो, उ हाम्रो, त्यो हाम्रो, जताततै हाम्रैहाम्रो । खुसी हुनुपर्ने नि त हामी । किन खुसी नभएको त ?’ File photo/RN