प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै कांग्रेस प्रवक्ताले भने, ‘मैले जे सोच्छु, त्यही नै ध्रुव सत्य हो भन्ने मानसिकताबाट गठबन्धन चल्दैन’


काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरुले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रोफेसनल मान्छे आओस् भन्ने चाहेको बताएका छन् । आज (आइतबार) कांग्रेस कास्की क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको जस्ता मानसिकताबाट गठबन्धन नचल्ने बताए । मैले जे सोच्छु त्यही नै सत्य हो भन्ने प्रधानमन्त्री ओलीको मानसिकता रहेको उनको टिप्पणी छ । ‘मैले जे सोच्छु, त्यही नै ध्रुव सत्य हो, अरूले मेरो किन विरोध गरिरहेका होलान् भन्ने मानसिकताबाट गठबन्धन चल्दैन,’ उनले भने ।

त्यस्तै, फरक प्रसंगमा उनले टेरामक्स प्रकरणमा पार्टीका नेता मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दा चलाइएकोमा असन्तुष्टि व्यक्त गरे । उनले उक्त प्रकरणमा अरुलाई जोगाउने प्रयास भएको र सबै मोहन बस्नेतलाई मात्रै जिम्मा लगाइएकोमा आश्चर्य लागिरहेको बताए । यस सन्दर्भमा आफूले थप बुझ्ने प्रयास गरिरहेको पनि प्रवक्ता महतले बताए ।

साथै, नेता बस्नेतलाई भ्रष्टाचार मुद्दा लगाइएकोमा पार्टीले डिफेन्स नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अरु दलले आफन नेतामाथि त्यसरी मुद्दा लगाउँदा जुलुस, धर्नालगायतका अनेक गतिविधि गर्ने गरेकोमा कांग्रेसभने चुप बसिरहेको उनले बताए । File Photo/RN