म प्राधिकरणमा खोज्दै गएको होईन, ‘सालो केटा’ लाई अन्याय भएको रहेछ भनेर सरकारले ल्यायोः हितेन्द्रदेव शाक्य (भिडिओसहित)


काठमाडौं, ६ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले आफूलाई अन्याय भएको बुझेर नै सरकारले नियुक्ति दिएको बताएका छन् । यो बीचमा ३ वर्ष आफूलाई अन्याय भएको कुरा अदालतमा प्रवेश गराए पनि पेशी नै नतोकिएको अवस्थामा अहिले सरकारले न्याय गरेको बताएका हुन् ।

‘मैले त मेरो अघिल्लो कार्यकाल सकिँदा विदावारी भएँ भनेर फेसबुकमा लेखेको थिएँ– ‘नमरी बाँचे कालैले साँचे फेरि भेटौला’ भनेर । म अब आउँदिनँ प्राधिकरणमा भन्ने हिसाबले मैले विदा मागेको हो । म खोज्दै पसेको होइन । अन्याय भइरहेको रहेछ यो केटालाई (हाँस्दै) अथवा सालो केटो भनौं न, भन्ने हिसाबले सरकारले ल्यायो । मेरो क्षमता, रेकर्ड हेरेर उहाँहरुले यसले गर्न सक्छ भनेर ल्याउनुभयो,’– उनले भने ।

आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ‘मलाई अन्याय भयो, अदालतले न्याय दिएन’ चाहीँ भनेको उनले सुनाए । उक्त कुरा सार्वजनिक रुपमा पनि भन्दै आएको शाक्यले स्मरण गराए ।