दुई दिनभित्र गभर्नर नियुक्ति हुन्छः एमाले नेता पोखरेल


काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले आज र भोलिमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गठबन्धन दलबीचको समझदारीमा गभर्नर नियुक्ति हुने बताएका हुन् ।

उनले कायममुकायम गभर्नर निलम ढुङ्गाना पनि गभर्नर बन्न योग्य मान्छे रहेको बताए । नेता पोखरेलले ढुङ्गाना कांग्रेस समर्थकको छोरी र एमाले समर्थकको बुहारी रहेको बताए । सहमतिमा उनलाई नियुक्ति गर्दा राम्रो हुने नेता पोखरेलको सुझाव छ ।

‘निलम पनि अयोग्य होइनन् । डेपुटी गभर्नर हुन् । एक जना महिला, योग्य मान्छे हुन् । कांग्रेस–कम्युनिष्ट कसैको मान्छे होइनन् । मैले बुझेअनुसार उहाँ कांग्रेसको छोरी, एमाले समर्थकको बुहारी हुन् भन्ने सुनेको छु । त्यसकारणले उहाँ नहुनुपर्ने कारण छैन । तथापि गठबन्धनको सरकार भएको हुनाले दुवै दलको समझदारीमा गभर्नर नियुक्ति हुन्छ,’– उनले भने ।