ओली र भण्डारीबीच कुनै द्वन्द्व छैन, उहाँहरु एकअर्काकाे प्रतिस्पर्धी नै होईनः एमाले सचिव अर्याल (भिडिओसहित)


काठमाडौं, ७ जेठ । नेकपा (एमाले) कि सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले केपी शर्मा ओली र विद्यादेवी भण्डारीलाई एकअर्काको प्रतिस्पर्धी मान्न नहुने बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली र भण्डारीबीचमा सबै कुरा सहमति, सहकार्य र सल्लाहमै हुने बताएकी हुन् । उनले पार्टीमा ओली र भण्डारीबीच ठूलो द्वन्द्व छ भनेर भ्रम फैलाइएको दाबी गरिन् । यसरी भ्रम फैलाएर एकछिन आनन्द लिनुको कुनै अर्थ नरहेको उनको टिप्पणी छ ।

‘केपी शर्मा ओली र विद्या भण्डारी एकअर्काका प्रतिस्पर्धी होइनन् । उहाँहरुले जे डिसिजन गर्नुहुन्छ, सहमति, सहकार्य र सल्लाहमा गर्नुहुन्छ । यो विषयमा स्पष्ट हुँदा हुन्छ । ठूलो द्वन्द्व छ, एकअर्काको प्रतिस्पर्धी भएर आउने भए भनेर चर्चा, परिचर्चा र हल्ला गरिएको छ, यो गलत हो,’– उनले भनिन् ।

साथै, फरक प्रसंगमा उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार ढाल्न नसक्ने दाबी गरिन् । कांग्रेस–एमालेबीच सरकारलाई लिएर कुनै असमझदारी नरहेको र ०८४ को निर्वाचनसम्म यो गठबन्धन टुट्ने सम्भावना पनि नरहेको उनको दाबी छ ।

‘उहाँले ढालेर ढल्छ त यो सरकार ? उहाँले ढालेर ढल्ने भए बनेको बनेको भोलिपल्ट, पर्सिपल्ट नै ढलिसक्थ्यो । उहाँको कुनै तागतले यो सरकार ढलाउनै सक्नुहुन्न । सरकार ढल्ने भनेको दुईवटा पार्टीको बीचमा समस्या उत्पन्न भएर हो । दुईवटा पार्टीको बीचमा समस्या नै छैन त कसरी ढल्छ सरकार ?’ प्रश्न गर्दै उनले भनिन् । File Photo/RN