काठमाडौं, ७ जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (टिआईए)का प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई गृह मन्त्रालयमा तानेको छ। ‘टिआईए’ अध्यागमन कार्यालय प्रमुखमा भने पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णुप्रसाद कोइरालालाई पठाएको हो।
मोरङका सिडिओबाट तानिएका भट्टराई बागमती प्रदेशबाट कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुँदै ‘टिआईए’ पुगेका थिए। गृह मन्त्रालय अन्तर्गतको एउटा विभागको महानिर्देशक भइसकेको व्यक्ति अर्को विभाग मातहतको कार्यालय प्रमुख बनेर गएपछि भट्टराईको आलोचना हुँदै आएको थियो। भट्टराई मोरङको सिडिओ बन्नु अघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रहेका थिए।
उनै भट्टराई कास्कीको सिडिओ भएर जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयबाट मन्त्रालय आएको स्रोतले बतायो। २०८१ असोज २३ गते प्रमुख अध्यागमन अधिकृतमा हाजिर भएका भट्टराई ८ महिना नपुग्दै गृह मन्त्रालय तानिएका हुन्।
कोइराला पाँचथरको प्रमुख जिल्ला अधिकारी भएर गएको महिनाको हिसाबले १ वर्ष पुगेको छ। २०८१ जेठ १६ गते गृहमन्त्रीस्तरीय निर्णयबाट उनी पाँचथरका सिडिओ बनेका थिए। कोइरालासँगै कास्कीका सिडिओ भरतमणि पाण्डे, ईलामको सिडिओ कल्पना श्रेष्ठ, भोजपुरका नरबहादुर थापा र वर्दियाकी सिडिओ रुद्रादेवी शर्मा एकैदिन खटाइएका थिए। उनीहरूको पनि सरूवा गर्ने गृहकार्यमा गृह मन्त्रालय लागेको पाइन्छ।




प्रतिक्रिया