रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित


काठमाडौं, ७ जेठ । जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’ सहित सिंगो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको छ । जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा (एमाले) निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका नेताहरु पनि माओवादीमा प्रवेश गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकताबारे धारणा राखे । उनले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे । सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामको कारण आएको पार्टीप्रति सकारात्मक लहर सुरु भएको प्रचण्डले बताए । उनले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे ।