काठमाडौं, ७ जेठ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्र लेख्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि सहकार्यको प्रस्ताव गरेका छन् । उनले देशव्यापी जनआन्दोलन प्रारम्भ गर्न लागेको जानकारी गराउँदै वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता रहेको बताएका छन् ।
वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षाहरू पूरा गर्न असफल भएको संयोजक सुवेदीको दाबी छ । उनले धर्म, संस्कृति र मौलिक मूल्य(मान्यतामा आधारित सनातन पहिचान गम्भीर संकटमा पर्दैगएको पनि पत्रमा उल्लेख गरेका छन् ।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले पनि हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गरेको उनले स्मरण गराएका छन् । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा रास्वपा वर्तमान व्यवस्थाबाट सन्तुष्ट नरहेको सुवेदीको ठहर छ ।
‘वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु,’– उनले पत्रमार्फत भनेका छन्, ‘आउनुहोस्, यो चरम दलियकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलीय प्रजातन्त्र पूनर्स्थापना गरौं ।’




प्रतिक्रिया