काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पठाएको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपा संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यलगायत राप्रपाको एजेण्डामा सहमत हुन नसक्ने बताएका हुन् । सुवेदी नेतृत्वको समितिले सहयोग माग्न पाउने आफ्नो अधिकार भएपनि रास्वपा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका हुन् ।
‘रास्वपाको धरातल, सिद्धान्त, विधान, विचार यी सबै कुराले हामीलाई त्यो बाटोमा हिँड्न दिँदैन । रास्वपाको सुशासन प्रतिको प्रतिवद्धता, सुशासन प्राप्त गर्नका लागि तय गरिने लक्ष्य नै फरक छ । संविधान प्रद्धत अधिकार प्रयोग गरेर जनताबाट प्राप्त मत सुशासनको अवयव र विकासको गतिलाई अगाडि बढाउने म्याण्डेड हुँदै गर्दा कुनै एउटा पक्षले मागेको सहयोगमा उहाँ माग्यो, त्यहाँ जाँदै उभिँदै गर्न सक्दैन नि,’– उनले भने ।
साथै, नेपालको वर्तमान व्यवस्था राप्रपा र राजावादी समूहरुले भनेजस्तो कमजोर नरहेको उनको भनाइ छ । यो व्यवस्थामा नेपाली जनताको अपनत्व रहेको बताउँदै उनले अब अग्रगामी परिवर्तनको पक्षमा अगाडि बढ्नुपर्ने बताए ।
संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले रास्वपालाई पत्र लेख्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि सहकार्यको प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया