‘डिसेम्बरसम्म’ चुनाव गर्नुपर्ने बङ्गलादेशका सेना प्रमुखको चाहना


ढाका, ८ जेठ । बङ्गलादेशका शक्तिशाली सेना प्रमुखले देशका पूर्व प्रधानमन्त्री जनविद्रोहमा अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनुपर्ने बताएका छन् ।

सेना प्रमुखको उक्त टिप्पणीलाई स्थानीय मिडियाले रिपोर्ट गरेको छ भने सैन्य स्रोतहरूले पनि बिहीबार पुष्टि गरेका छन् ।

बङ्गलादेशी अखबारहरूका अनुसार जनरल वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई यदि अगावै चुनाव भएन भने यस वर्षको डिसेम्बरसम्ममा चुनाव गराउनुपर्ने बताएका छन् ।

करिब १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली राष्ट्र अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहदेखि राजनीतिक अशान्तिमा छ र सडकमा प्रदर्शन गर्ने दलले धेरै माग राखिरहेका छन् ।

“बङ्गलादेश अराजक चरणबाट गुज्रिरहेको छ”, अखबारहरूका अनुसार वाकर–उज–जमानले भने, “स्थिति दिनप्रतिदिन खराब हुँदै गइरहेको छ । नागरिक प्रशासन र कानून प्रवर्तन निकायहरूको संरचना भत्किएको छ र पुनर्गठन गर्न असफल भएको छ ।”

चुनावको कुनै मिति तोकिएको छैन तर अन्तरिम नेता, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले चुनाव ढिलोमा सन् २०२६ जुनसम्ममा गराइने बताएका छन् ।

तर चुनावमा अग्रणी उम्मेदवारका रूपमा हेरिएको प्रमुख बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले बारम्बार चुनावको मिति माग गरेको छ ।

बिएनपीले बुधबार राजधानी ढाकामा विरोध प्रदर्शन गर्‍यो । महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले पहिलो पटक कार्यवाहक सरकार विरुद्ध प्रदर्शन गरे ।

एक अधिकारीको प्रश्नको जवाफमा सेना प्रमुखले कथित रूपमा भने, “चुनाव डिसेम्बरसम्म गराउनुपर्छ, यदि त्यो भन्दा पहिले भएन भने ।”

उनले अधिकारीहरूलाई ‘चुनावको समयमा इमानदारी र निष्पक्षताका साथ आफ्नो कर्तव्य पूरा गर्न’ पनि भनेको बताइएको छ ।

गत वर्ष अगस्टमा हसिनालाई अपदस्थ गरिएको र सेनाले छोटो समयका लागि नियन्त्रण लिएको घोषणा गर्ने व्यक्ति वाकर–उज–जमान नै थिए ।

केही दिनपछि उनले ८४ वर्षीय युनुसलाई सत्ता हस्तान्तरण गरे । युनुसले अर्को चुनावसम्म आफूले कार्यवाहक सरकारको नेतृत्व गर्ने बताएका छन् ।

सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्नल सामी–उद–दौला चौधरीले सेना प्रमुख वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई सम्बोधन गरेको तर ‘बैठक गोप्य थियो’ भनी पुष्टि गरे ।

तर बैठकको प्रत्यक्ष जानकारी भएका तीनवटा स्रोतले सेना प्रमुखले चुनाव गराउने आवश्यकतामा जोड दिएको र डिसेम्बरसम्ममा सम्पन्न गर्नुपर्ने बताएको भनेका छन् ।

आफ्नो शान्त व्यवहारका लागि परिचित वकर–उज–जमान सत्रको समयमा निराश र असन्तुष्ट देखिएको बताइएको छ । रासस