प्रचण्डसँग जुध्न नसकेपछि बाबुरामले अनावश्यक ब्लेम लगाउनुभयो : अमनलाल मोदी (भिडिओसहित)


काठमाडौं, ९ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालसँग जुध्न नसकेर अनावश्यक आरोप लगाएको दाबी गरेका छन् । मोदीले क्यान्टोनमेन्टको पनि छानबिन गरिनुपर्ने भनेर आफूहरुले सदनमै बोलिसकेको पनि स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले २००७ सालदेखि अहिलेसम्म सार्ववजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘क्यान्टोनमेन्टको पनि छानबिन गर्नुपर्छ । सबैको छानबिन गर्नुपर्छ ।’

बाबुराम भट्टराईले अरबौं भ्रष्टाचार भएको छ भनेर भन्नुभएको थियो नि भनेर पत्रकार धमलाले राखेको प्रश्नमा मोदीले भने,‘उहाँलाई त कुनबेला रिस उठ्यो, कुनबेला के बोल्नुहुन्छ, उहाँले माओवादीसँग रिस उठेपछि, माओवादीका अध्यक्ष प्रचण्डसँग जुध्न नसकेपछि यस्तो ब्लेम लगाउनुभयो ।’